चैत ६ गतेदेखि सुरु भएको भक्तपुर फिल्म महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ। महोत्सवमा विभिन्न विधाका २४ फिल्म प्रदर्शन गरिएका थिए, जसले स्थानीय दर्शकलाई विविध सिनेमाटिक अनुभव प्रदान गर्यो।
महोत्सवको समापन सन्देश भुर्तेल निर्देशित डकुमेन्ट्री ‘मदर रेबिका’ प्रदर्शनसँगै गरिएको हो। भक्तपुरस्थित नेपाल भोकेसनल एकेडेमीमा आयोजित समापन कार्यक्रममा भक्तपुर नगरपालिकाकी उप-प्रमुख रजनी जोशीसहित निर्देशकहरू सुजित बिडारी, प्रवीण कार्की, सचिन घिमिरे लगायत फिल्मकर्मीहरूको उपस्थिति रहेको थियो।
यसअघि महोत्सवको उद्घाटन नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ प्रदर्शनसँगै गरिएको थियो, जसले कार्यक्रमलाई उत्साहपूर्ण सुरुवात दिएको थियो।
युवा फिल्मकर्मीहरूको सक्रियतामा आयोजना गरिएको यस महोत्सव किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी र प्रवीण टक्की लगायतको टोलीले सम्पन्न गरेको हो। महोत्सवका निर्देशक स्वयं किरण किलम्बु रहेका थिए।
महोत्सवमा सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’, अंकित पौडेलको ‘सङ्ग अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’ र राजन कठेत तथा सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’ लगायतका फिल्म तथा डकुमेन्ट्री प्रदर्शन गरिएका थिए।
स्थानीय स्तरमै आयोजित यस महोत्सवले नयाँ तथा वैकल्पिक सिनेमालाई प्रवर्द्धन गर्दै युवा फिल्मकर्मीलाई प्लेटफर्म प्रदान गरेको आयोजकको विश्वास छ।