फिल्म ‘परालको आगो’को ‘उडि जाउँ भने,म पंक्षी होइन’गीतलाई दर्शकको साथ,छोटो समयमै कट्यो भ्युज ११ लाख

0 Shares

आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’को बहुप्रतीक्षित गीत ‘उडि जाउँ भने, म पन्छी होइन’ले युट्युबमा धमाकेदार सफलता हासिल गरेको छ। ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले छोटो समयमै ११ लाखभन्दा बढी भ्युज बटुलेको छ।

गीतले दैनिक दुई लाखभन्दा बढी दर्शकको साथ पाइरहेको छ भने प्रतिक्रिया पनि अत्यन्त सकारात्मक देखिएको छ। यो समाचार तयार पार्दासम्म गीतले करिब १५ हजार लाइक र ८५० भन्दा बढी कमेन्ट प्राप्त गरेको छ, जसमा अधिकांश प्रशंसात्मक छन्।

दर्शकहरूले विशेषगरी गीतमा देखिएको सुहाना थापा र प्रकाश सपुतको अभिनयको खुलेर प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमा उनीहरूको जोडीलाई निकै रुचाइएको छ भने टिकटक र फेसबुक रिल्समा पनि गीत भाइरल भइरहेको छ।

गीतमा सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँको अभिनय देख्न सकिन्छ। उनीहरूको भावनात्मक प्रस्तुति र रामजी लामिछानेको कोरियोग्राफीले गीतलाई थप जीवन्त बनाएको छ।

यो गीत पुरानो कालजयी सिर्जनाको पुनः प्रस्तुति हो। ४५ वर्षअघि चर्चामा रहेको यस गीतलाई पुनः रेकर्ड गर्दै नयाँ पुस्तामाझ ल्याइएको हो। मूलतः यस गीतमा संगीत शान्ती ठटालको रहेको छ भने नयाँ संस्करणमा निशु शर्माले स्वर दिएकी छन्। गीतका शब्द मनबहादुर मुखियाले लेखेका हुन्। यस गीतको ओरिजिनल स्वर भने अरुणा लामाको रहेको थियो, जसलाई निर्माण टिमले विशेष रूपमा सम्झिएको छ।

निर्माता सुशील पोखरेल गीतको सफलता र दर्शकको मायाबाट उत्साहित देखिएका छन्। उनले छोटो समयमै लाखौं भ्युज प्राप्त गरेकोमा दर्शकप्रति आभार व्यक्त गर्दै गीत हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन्।

गुरु प्रसाद मैनालीको प्रसिद्ध कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र मञ्जिला बानियाँ लगायत कलाकारहरूको अभिनय रहेको छ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा बनेको यस फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन्। संकल्प भुजेलको छायांकन रहेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् भने रंग संयोजन कनाल कँवरले गरेका छन्।

फिल्मको संगीत शान्ती ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले दिएका छन् भने पाश्र्व संगीत किरण तुलाधरको रहेको छ। आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।

सम्बन्धित समाचार

सबै