निफमा ‘रसियन फिल्म डेज’ अन्तर्गत चार रूसी फिल्म स्क्रिनिङ हुने

0 Shares

काठमाडौं — आगामी चैत १९ देखि २३ गतेसम्म हुने नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा ‘रसियन फिल्म डेज नेपाल २०२६’ अन्तर्गत चार रूसी फिल्म स्क्रिनिङ गरिने भएको छ।

आयोजकका अनुसार कमलपोखरीस्थित रसियन हाउसमा चैत २१ गते फिल्महरू ‘अगस्ट’, ‘द च्यालेन्ज’, ‘द डिनो फ्यामिली’ र ‘अल रङ गर्ल’ प्रदर्शन गरिनेछ। निफका अध्यक्ष केपी पाठकले नेपाल–रुसबीच सांस्कृतिक आदान–प्रदान विस्तार गर्ने उद्देश्यले यो कार्यक्रम समावेश गरिएको बताए।

उनका अनुसार यस कार्यक्रममार्फत नेपाली दर्शक र चलचित्रकर्मीले रूसी फिल्म, कला र प्रविधिबारे जानकारी लिनुका साथै त्यहाँका निर्मातासँग सञ्जाल विस्तार गर्ने अवसर पाउनेछन्।

नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षको अवसरमा विशेष रूपमा ‘रसियन फिल्म डेज’ आयोजना गरिएको आयोजकले जनाएको छ।

यसैगरी, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खण्डमा रूसी फिल्म ‘द पोएट’ पनि सहभागी भएको छ। अलेक्जेन्डर पुश्किनको जीवनमा आधारित यो फिल्म फेलिक्स उमारोभद्वारा निर्देशित हो। यो फिल्म चैत २३ गते बिहान ११ बजे ठमेलस्थित छाया सेन्टरमा प्रदर्शन हुनेछ।

निफमा यस वर्ष ४० देशका ८८ फिल्म प्रदर्शन गरिनेछ भने विभिन्न विषयमा १० वटा अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजना हुनेछन्। विस्तृत कार्यक्रम छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ।

‘अगस्ट’ दोस्रो विश्वयुद्धको अन्त्यतिरको घटनामा आधारित ऐतिहासिक थ्रिलर हो, जसमा रेड आर्मीमाथि हुनसक्ने आक्रमण रोक्न काउन्टर इन्टेलिजेन्सको प्रयास देखाइएको छ।

‘द च्यालेन्ज’ अन्तरिक्षमा छायांकन गरिएको पहिलो फिल्म मानिन्छ, जसमा अन्तरिक्ष स्टेसनमा बिरामीको शल्यक्रिया गर्ने एक चिकित्सकको साहसिक कथा समेटिएको छ।

‘द डिनो फ्यामिली’ पारिवारिक एडभेन्चर फिल्म हो, जसमा एक किशोरी अनायासै डाइनोसर युगमा पुगेर संघर्ष गर्न बाध्य हुन्छिन्।

‘अल रङ गर्ल’ किशोर–किशोरीमा हुने बुलिङ र शरीरलाई लिएर हुने अपमान तथा त्यसविरुद्धको विद्रोहको कथामा आधारित छ।

सम्बन्धित समाचार

सबै