‘तेल भिसा’ निर्माता शिवराज कार्कीको ठगीधन्दा, २५० जनालाई ठगेको आरोपमा परे पक्राउ

0 Shares

काठमाडौं — गत वर्ष प्रदर्शन भएको फिल्म ‘तेल भिसा’का निर्माता तथा मेनपावर व्यवसायी शिवराज कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार उनलाई स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीविरुद्ध ठगी तथा वैदेशिक रोजगारसम्बन्धी कसुरको आरोप छ। कार्कीले अमेरिका लगायत विभिन्न देश पठाइदिने भन्दै रकम लिएर नपठाएको तथा रकम फिर्ता नगरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

तीन महिनाअघि दर्ता भएको उजुरीपछि वैदेशिक रोजगार न्यायाधिकरणले पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि उनी भारतमा रेस्टुरेन्ट सञ्चालन गर्दै लुकेर बस्दै आएको खुलेको छ।

अनुसन्धान अनुसार कार्कीले प्रतिव्यक्ति १ लाखदेखि २० लाख रुपैयाँसम्म असुलेको र करिब २०० देखि २५० जनालाई वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गरेको देखिएको छ। हालसम्म १०० भन्दा बढी पीडित प्रहरी सम्पर्कमा आइसकेका छन्।

यसअघि पनि उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको प्रहरी स्रोतले जनाएको छ।

कार्कीले काठमाडौंको चाबहिलमा ‘पी एन्ड एम इनोभेटिभ सर्भिसेज’ सञ्चालन गर्दै सोही कन्सल्टेन्सीमार्फत वैदेशिक रोजगारीको नाममा रकम संकलन गर्दै आएको आरोप छ। उनी चलचित्र निर्माता संघका साधारण सदस्य समेत हुन्। उनले ‘तेल भिसा’अघि ‘चि मुसी चि’ फिल्म निर्माण गरेका थिए।

यसैबीच, ‘तेल भिसा’सँग सम्बन्धित अन्य व्यक्तिहरूमाथि पनि ठगी आरोपमा उजुरी परेको थियो। निर्देशक शंकर घिमिरे र प्रस्तुतकर्ता तथा अभिनेत्री ऋचा घिमिरेविरुद्ध पनि वैदेशिक रोजगारीको प्रलोभन देखाएर रकम असुल गरेको आरोपमा उजुरी दर्ता भएको थियो।

सम्बन्धित समाचार

सबै