काठमाडौं। बलिउड तथा दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री सोनल चौहान अहिले काठमाडौं भ्रमणमा व्यस्त छिन्। बुधबार बिहान उनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेकी छन्।
पशुपति दर्शनपछि उनले आफ्नो इन्स्टाग्राममा शिव मन्त्रसहित आकर्षक तस्बिरहरू सेयर गरेकी छन्। उनले क्याप्सनमा लेखेकी छन्, ‘कर्ता करे ना कर सके, शिव करे सो होए…. तीन लोक नौ खंड में, महादेव से बड़ा ना कोय…. ॐ नमः शिवाय ।’
सन् २००८ मा प्रदर्शन भएको फिल्म ‘जन्नत’ बाट फिल्म यात्रा सुरु गरेकी सोनल छोटो समयमै दर्शकमाझ लोकप्रिय बनेकी थिइन्। इमरान हास्मी सँगको जोडीले उनलाई व्यापक चर्चा दिलाएको थियो।
उत्तर प्रदेशमा जन्मिएकी सोनल अभिनयअघि मोडलिङ क्षेत्रमा सक्रिय थिइन्। उनले सन् २००५ मा ‘फेमिना मिस इन्डिया वर्ल्ड टुरिज्म’ उपाधि जितेकी थिइन् भने सोही वर्ष ‘मिस वर्ल्ड टुरिज्म’ जित्ने पहिलो भारतीय बनेर चर्चा कमाएकी थिइन्।
‘जन्नत’ पछि उनले हिन्दी मात्र नभई तेलुगु, तमिल र कन्नड भाषाका फिल्ममा समेत अभिनय गरिन्। ‘लिजेन्ड’, ‘डिक्टेटर’ लगायत दक्षिण भारतीय फिल्ममार्फत उनले आफ्नो अभिनय क्षमता देखाएकी छन्।
गायनमा पनि रुचि राख्ने सोनलले केही फिल्मका गीतमा स्वर दिएकी छन्। पछिल्लो समय ‘मिर्जापुर’ वेब सिरिजबाट विकसित फिल्म ‘मिर्जापुर: द फिल्म’ मा उनको संलग्नताको खबर सार्वजनिक भएसँगै उनको करिअर पुनः चर्चामा आएको छ।