काठमाडौँ — नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि आजै प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन्। समारोहमा बटुकद्वारा स्वस्तिवाचन र लामाद्वारा मंगलवाचन गरिएको थियो।
प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन्।
मन्त्रिपरिषदको दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् भने तेस्रो वरीयताका सुधन गुरुङ गृह मन्त्री बनेका छन्।
शिशिर खनाललाई परराष्ट्र मन्त्रालयको जिम्मा दिइएको छ। सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय सम्हाल्नेछन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व विराजभक्त श्रेष्ठले पाएका छन्। खड्कराज पौडेल (गनेश) पर्यटन मन्त्री बनेका छन्।
सस्मित पोखरेललाई शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ। निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन्।
विक्रम तिमिल्सिनाले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन्।
सामान्य प्रशासन मन्त्रालयको जिम्मा प्रतिभा रावललाई दिइएको छ भने दीपक साह (महोत्तरी) श्रम मन्त्री बनेका छन्। सोविता गौतम कानुन मन्त्री बनेकी छन्।
सीता वादीलाई महिला, बालबालिका तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।