काठमाडौँ — नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत बलिउडका लेजेन्ड निर्देशक रमेश सिप्पी र नेपाली चलचित्रका महानायक राजेश हमालबीच विशेष संवाद कार्यक्रम हुने भएको छ।
निफ अध्यक्ष केपी पाठकका अनुसार चैत १९ देखि २३ सम्म काठमाडौंमा आयोजना हुने महोत्सवको दोस्रो दिन दिउँसो ३ बजे नेपाल पर्यटन बोर्डमा ‘सिनेमा संवाद : रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षकमा कार्यक्रम तय गरिएको हो।
कार्यक्रममा नेपाली र बलिउड चलचित्रको यात्रा, व्यक्तिगत अनुभव तथा सिनेमाको विगत, वर्तमान र भविष्यका विषयमा दुवै व्यक्तित्वबीच छलफल हुनेछ। आयोजकले यस संवादले नेपाल–भारत फिल्म सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरेको छ।
निर्देशक सिप्पी चैत १८ गते काठमाडौं आउने तय भएको छ। उनले ‘शोले’ जस्ता चर्चित बलिउड फिल्म निर्देशन गरेका छन् भने शाहरुख खान, अमिताभ बच्चन, धर्मेन्द्रलगायतका शीर्ष कलाकारसँग काम गरेका छन्।
त्यस्तै, राजेश हमाल २०० भन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेका लोकप्रिय अभिनेता हुन्।
निफको नवौं संस्करणमा ४० देशका ८८ फिल्म प्रदर्शन गरिनेछ भने विभिन्न १० वटा अन्तरक्रियात्मक कार्यक्रमहरू आयोजना गरिनेछ। साथै, प्रतिस्पर्धामा सहभागी नभएका १० चिनियाँ र रुसी फिल्महरू पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ।
