‘परालको आगो’को गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक, सुहाना–प्रकाशको जोडी चर्चामा

0 Shares

काठमाडौं — आगामी बैशाख ११ गते रिलिज हुने फिल्म ‘परालको आगो’को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक गरिएको छ। निर्माण टिमले शनिबार प्रचार सामग्रीअन्तर्गत उक्त गीत रिलिज गरेको हो।

गीतमा गायक प्रकाश सपुत र गायिका शान्तिश्री परियारको स्वर रहेको छ। शब्द तथा संगीत प्रकाश सपुतकै रहेको गीतलाई संगीत संयोजन सुदीप सागरले गरेका हुन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा र प्रकाश सपुत देखिएका छन्। मायालु भावमा प्रस्तुत गरिएको उनीहरूको जोडीलाई दर्शकले मन पराएका छन्। यो उनीहरूको पहिलो स्क्रिन सेयर पनि हो।

फिल्म प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले प्रचारलाई तीव्र बनाएको छ। यसअघि टिजर र पहिलो गीत ‘उडी जाउँ भने, म पन्छी होइन’ सार्वजनिक भइसकेको छ, जसले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो।

नयाँ गीत ‘दुःख सुख जिन्दगानी’ले ग्रामीण परिवेशका युवा–युवतीबीचको प्रेम कथालाई चित्रण गरेको छ। लोकलयमा आधारित गीतमा घाँस–दाउरा, बाख्रा गोठालो जस्ता गाउँघरका दृश्यहरू प्रस्तुत गरिएको छ, जसले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

यूट्यूब को ओएसआर च्यानलमार्फत सार्वजनिक गरिएको गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् भने फिल्म निर्देशन लक्ष्मण सुनारले गरेका हुन्।

गुरु प्रसाद मैनालीको अमर कृतिबाट प्रेरित फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतको अभिनय रहेको छ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सुशील पोखरेल हुन्। पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्। छायांकन संकल्प भुजेल, सम्पादन मिलन श्रेष्ठ, तथा रंग संयोजन कनाल कँवरको रहेको छ।

फिल्मको पाश्र्व संगीत किरण तुलाधर, संगीत शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले दिएका छन्। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका हुन्।

वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।

यसअघि ४५ वर्षअघि पनि प्रताप सुब्बाले यही कथामा आधारित फिल्म निर्देशन गरेका थिए।

सम्बन्धित समाचार

सबै