आँचलको ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक

0 Shares

काठमाडौं । आगामी जेठ १ गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘एक मुठ्ठी बादल’ ले आफ्नो पहिलो गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक गरेको छ। गीतमा फिल्मका प्रमुख कलाकारहरूको उपस्थिति रहेको छ।

गीतमा आँचल शर्मा, निशा शर्मा, उषा रजक र सहयोग अधिकारी फिचर्ड छन्। विवाहको अघिल्लो दिनको उत्साह र पारिवारिक वातावरणलाई पृष्ठभूमिमा राखेर तयार गरिएको भिडियोले तीन पुस्ताका महिलाहरूको भावनात्मक कथालाई उजागर गर्ने प्रयास गरेको छ।

गीतमा सुमित पाठकको संगीत रहेको छ भने मीना पोखरेल र इन्द्रकला राईले स्वर दिएका छन्। शब्द हर्क साउदले लेखेका हुन्। सुमित नेपाल आइडल सिजन २ का उपविजेता हुन् र यसै चलचित्रमार्फत फिल्म संगीत क्षेत्रमा प्रवेश गरेका हुन्।

निर्देशक सहारा शर्माका अनुसार गीतले फिल्मको मुख्य भावनालाई प्रतिनिधित्व गर्छ। उनले विभिन्न चरणमा हर्क साउदसँग सहकार्य गर्दै गीतमार्फत कथाको सार प्रस्तुत गर्ने प्रयास गरिएको बताइन्।

गीतको भिडियो निर्देशन प्रतीक गुरुङले गरेका हुन्। कोरियोग्राफी कृतिका बरालले गरेकी छन् भने छायांकन निहाल भण्डारी र सम्पादन तथा कलर ग्रेडिङ कृष्ण भण्डारीले गरेका छन्।

चलचित्रमा भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रको लेखन तथा निर्देशन सहारा शर्माले गरेकी हुन्। निर्माण अभिमन्यु दीक्षितले गरेका हुन् भने कार्यकारी निर्माता निकुन श्रेष्ठ हुन्। निर्माण टिममा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल समेत सहभागी छन्।

फिल्ममा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रोडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला निर्देशन, जानकी कडायतको भेषभूषा डिजाइन र कीर्ति जोशीको मेकअप रहेको छ। प्रमुख सहायक निर्देशकको रूपमा मर्णा जेम्सले काम गरेकी छन्।

फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सनले निर्माण गरेका हुन् भने नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।

सम्बन्धित समाचार

सबै