काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेलले आफ्नो डेब्यु म्युजिक भिडियो ‘सधैं साथमा तिम्रो’ सार्वजनिक गरेका छन्।
रोमान्टिक शैलीको यस गीतमा सुरेश बस्नेतको एकल स्वर रहेको छ। गीत गोविन पुनको शब्द तथा संगीतमा तयार भएको हो भने संगीत संयोजन दिनेश श्रेष्ठले गरेका हुन्।
‘दुई मुटु, एक यात्रा’ भन्ने अवधारणामा निर्माण गरिएको भिडियो अमेरिका, अष्ट्रेलिया र न्यूजिल्यान्डका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ। अन्तर्राष्ट्रिय लोकेशन र प्रेमिल कथा संयोजनले भिडियोलाई आकर्षक बनाएको छ।
भिडियोमा सुरेश बस्नेत र रेहा पोखरेल स्वयं श्रीमान–श्रीमतीको भूमिकामा देखिएका छन्। उनीहरूको वास्तविक प्रेम कथालाई आधार बनाएर भिडियो निर्माण गरिएको जनाइएको छ।
भिडियो निर्देशन विक्रान्तमान श्रेष्ठ र क्रिस्टिना बसिस्टले गरेका हुन्। सम्पादन साहिल खानले गरेका छन् भने पटकथा प्रविण श्रेष्ठको रहेको छ।
छायांकन अष्ट्रेलियामा सौरभ मानन्धर, न्यूजिल्यान्डमा यूरिका फिल्म्स प्रा.लि. र अमेरिकामा पशुपति बस्यालसहितको टोलीले गरेको हो।
उच्च लागतमा निर्माण गरिएको यस भिडियोबारे सुरेश बस्नेतले भने, “यो प्रोजेक्ट हामीले आर्थिक लाभका लागि होइन, गीत–संगीतप्रतिको लगावका कारण दर्शकमाझ ल्याएका हौं।”
व्यस्त चिकित्सकीय पेशामा रहे पनि उनीहरूले संगीत यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।