काठमाडौं । निर्माण कम्पनी सेभेन सिज सिनेमाले आफ्नो नयाँ प्रस्तुति फिल्म ‘रोल नं १’को पहिलो झलक सार्वजनिक गरेको छ। आगामी वर्ष जेठ १५ (गणतन्त्र दिवस)बाट प्रदर्शनमा आउने फिल्मका दुई पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले दर्शकमाझ चासो बढाएको छ।
सार्वजनिक पोस्टरहरूले पात्र परिचयसँगै नेपाली समाजको यथार्थ र ग्रामीण जीवनको संघर्षलाई गहिरो रूपमा प्रस्तुत गरेका छन्। माटोको रङ प्रयोग गरिएको पोस्टरले भुइँमान्छेको जीवन र यथार्थलाई संकेत गर्छ।
एक पोस्टरमा बाल कलाकार निर्भिक रेग्मीका साथ मुकुन भुसाल र रेणु योगी ग्रामीण भेषमा देखिन्छन्। अभावबीच पनि छोरालाई पढाउने अभिभावकको संघर्षलाई दृश्यले मार्मिक रूपमा चित्रण गरेको छ। बालकको अनुहारमा देखिएको मुस्कान र पछाडि देखिएको पहाडी विद्यालयले शिक्षा र ग्रामीण यथार्थको कथा उठान हुने संकेत गर्छ।
अर्को पोस्टरमा बालक बुबाको पिठ्युँमा टाउको राखेर सुतेको भावनात्मक दृश्य छ। बुबाको थकान र जिम्मेवारी तथा बालकको भरोसाले अभिभावक–सन्तान सम्बन्धको गहिरो भाव उजागर गरेको छ। पठन सामग्रीको अभाव र ग्रामीण शिक्षाको कठिनाइलाई पनि प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।
फिल्मको ट्यागलाइन ‘हरेक विद्यार्थीको कथा’ रहेको छ, जसले विद्यार्थी जीवन, विद्यालय संघर्ष र सपनाको यात्रालाई केन्द्रमा राखेको स्पष्ट हुन्छ।
जोन योञ्जनको निर्देशनमा बनेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। बाल कलाकारहरूमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ देखिनेछन्।
फिल्मका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् भने सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन्। कथा महेश दवाडीले लेखेका हुन्।
म्याग्दीका ग्रामीण भेगमा छायांकन गरिएको फिल्ममा डीओपी शिवराम श्रेष्ठ, संगीत प्रशान्त शिवाकोटी, बीजीएम रोहित शाक्य र सम्पादन मदन घिमिरेको रहेको छ।
निर्माण टिमका अनुसार फिल्म नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा पनि एकसाथ प्रदर्शन गरिनेछ। वितरणको जिम्मा रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले लिएका छन्।