बलिउड फिल्म ‘रामायण’को टिजर सार्वजनिक गरिएको छ। निर्देशक नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपूर भगवान् रामको भूमिकामा देखिएका छन्।
२ मिनेट ३८ सेकेन्ड लामो टिजरमा सबै सांसारिक सुख–सुविधा त्याग गर्ने आदर्श राजाको भव्य प्रस्तुति गरिएको छ। रणवीरको लुक्स र प्रस्तुति प्रभावशाली देखिएको छ, जसले दर्शकमा उत्साह थपेको छ।
टिजर सार्वजनिक भएसँगै दर्शक प्रतिक्रिया अत्यन्त सकारात्मक देखिएको छ। भिडियोमा रामलाई जनताको हितका लागि आफ्नो जीवनसमेत त्याग गर्न तयार महान् पात्रका रूपमा प्रस्तुत गरिएको छ।
निर्माताका अनुसार, “राम महान् पात्र हुन्, किनकि उनले व्यक्तिगत चाहनाभन्दा कर्तव्यलाई प्राथमिकता दिए। उनले सधैं स्वार्थभन्दा त्याग रोजे।”
उनीहरूले थपेका छन्, “उनको विरासतले मानवतालाई प्रेरित गर्दै आएको छ र सद्भावनाले द्वन्द्व समाधान गरी विश्वमा शान्ति ल्याउन सक्छ भन्ने विश्वास दिलाउँछ।”
टिजर सार्वजनिक गर्नुअघि फिल्म टिमले लस एन्जल्समा अन्तर्राष्ट्रिय दर्शकमाझ विशेष कार्यक्रम आयोजना गरेको थियो। सो कार्यक्रममा रणवीर कपूरले सुरुवातमा आफूले फिल्म अस्वीकार गरेको तर पछि स्वीकार गरेको खुलासा गरेका थिए।
उनले भने, “म पहिलोपटक बुबा बनेँ। भगवान् रामको भूमिका निभाउनु र बुबा बन्नु एकै समयमा हुनु मेरो जीवनको महत्वपूर्ण मोड हो।”
फिल्ममा यश रावणको भूमिकामा, साई पल्लवी सीता, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा देखिनेछन्।
फिल्म तिहारको अवसरमा प्रदर्शनमा आउने अपेक्षा गरिएको छ।