काठमाडौं : आगामी चैत्र २७ गते सोलो रिलिजमा आउन लागेको फिल्म ‘राम नाम सत्य’ को ट्रेलरले युट्युबमा अभूतपूर्व लोकप्रियता हासिल गरेको छ। सस्पेन्स, प्रेम र एक्सनले भरिएको ट्रेलर सार्वजनिक भएको २४ घन्टामै १० लाखभन्दा बढी पटक हेरिएको छ र युट्युबको नेपाल फिल्म सेक्सनमा नम्बर १ ट्रेन्डिङमा पुगेको छ।
बुधबार सार्वजनिक गरिएको ट्रेलरले मात्र १ घन्टा ३० मिनेटमै ट्रेन्डिङमा प्रवेश गर्दै ८ नम्बर स्थान हासिल गरेको थियो। १० घन्टाभित्रै यो शीर्ष स्थानमा पुगेको हो, जसले फिल्मप्रति दर्शकको तीव्र चासो देखाएको छ।
निर्देशक माइकल चन्दको कथा, पटकथा र लेखन रहेको फिल्मको ट्रेलरमा विराज भट्टको दमदार एक्सन, सुशील श्रेष्ठ र दिव्या रायमाझीबीचको प्रेम कथा, तथा दुई पात्रबीचको संघर्षपूर्ण एक्सन दृश्य देखाइएको छ।
फिल्ममा नव–अभिनेता आयुष सिंह ठकुरीको रहस्यमय भूमिका विशेष आकर्षण बनेको छ भने नव–अभिनेत्री खुशी कार्की र विराज भट्टको नृत्य रहेको ‘हुम्लाको सिमी’ गीत पनि चर्चामा छ।
ट्रेलर सार्वजनिक भएपछि २६ सयभन्दा बढी प्रतिक्रिया आएका छन्, जसमा अधिकांश दर्शकले फिल्मप्रति उत्साह व्यक्त गरेका छन्। निर्देशक चन्दले दर्शकको सकारात्मक प्रतिक्रियाले आफू झनै उत्साहित भएको बताएका छन्।
फिल्ममा दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का, दिपक कोइराला, विनुता विमली, सरोज शाह लगायतका कलाकारहरूको अभिनय रहेको छ। साथै बाल–कलाकारहरूमा आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र श्रृङ्खला बिष्ट छन्।
माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा बनेको फिल्ममा उपेन्द्र शाही र स्वेता विमलीको लगानी छ। कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रहेका छन् भने सह–निर्मातामा तेजराज चटौत र दमन बहादुर चन्द छन्।
क्रिएटिभ निर्माता मोती कार्की रहेका फिल्ममा लाइन प्रोड्युसर राजेन्द्र आचार्य छन्। फिल्मको वितरण काफिया फिल्म्स र कुवेर सिने डिस्ट्रीब्युसनले गर्नेछ।
संगीततर्फ बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको योगदान छ। छायांकनमा मानकृष्ण महर्जन र शेर बहादुर लामा, एक्सन निर्देशन श्री श्रेष्ठ, सम्पादन बन्दे प्रसाद र कोरियोग्राफी सियोन श्रेष्ठको रहेको छ। ट्रेलर सम्पादन साहिल खानले गरेका हुन्।
यसअघि फिल्मका गीतहरू पनि दर्शकमाझ लोकप्रिय बनेका छन्—‘धागोले बाटेको’ युट्युबमा ६० लाखभन्दा बढी पटक हेरिएको छ भने ‘हुम्लाको सिमी’ पनि ट्रेन्डिङमा छ।
वितरक गोविन्द शाहीका अनुसार फिल्मले बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने अपेक्षा गरिएको छ।