पूर्व प्रधानमन्त्री तथा केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराई का अनुसार उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको हो।
प्रहरीका अनुसार अब बाँकी निर्णय ओलीको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्नेछन्। जटिल स्वास्थ्य समस्याका कारण उनी हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत थिए।
ओलीलाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा चैत १४ गते गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो। त्यसपछि उनको स्वास्थ्य बिग्रिएपछि अस्पतालमा राखिएको थियो।
यसैबीच उनकी पत्नी राधिका शाक्य ले गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन्।
सर्वोच्च अदालत ले चैत २३ गते बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक माथिको अनुसन्धान २६ चैतभित्र टुंग्याउन आदेश दिएको थियो। अदालतले तोकिएको समयभित्र अनुसन्धान पूरा नभए शर्तसहित रिहा गर्न पनि निर्देशन दिएको थियो।
यसैबीच, रिहाइपछि ओलीलाई लिन उनकी पत्नी राधिका शाक्य शिक्षण अस्पताल पुगेकी छन्।