आउँदो वर्ष जेठबाट छायांकन सुरु हुने नेपाली फिल्म ‘एक्का तीन’मा अभिनेता पुष्प खड्का फाइनल भएका छन्। यससँगै अभिनेत्री पूजा शर्मा सँग उनको जोडी पक्का भएको छ।
फिल्मका निर्देशक रुपेश तामाङ का अनुसार प्रि–प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ र कलाकार छनोट धमाधम भइरहेको छ।
यो फिल्ममा पूजा शर्मा पहिल्यै फाइनल भइसकेकी थिइन् भने अब पुष्प खड्का पनि आधिकारिक रूपमा जोडिएका छन्। निर्माण टिमले उनीसँग कागजी सम्झौता समेत गरिसकेको जनाएको छ।
निर्देशक तामाङका अनुसार ‘एक्का तीन’ एक्सन जनरामा निर्माण हुँदैछ। फिल्ममा पुष्पको भूमिकाबारे भने हालसम्म खुलाइएको छैन।
निर्माण पक्षले फिल्ममार्फत एक नव–नायक र एक नव–नायिकालाई पनि अवसर दिने तयारी गरेको छ।
फिल्मको कथा लेखक सुमन गजमेर हुन्। यसलाई जुना फिल्म्स र अधिरा फिल्म्स ले संयुक्त रूपमा निर्माण गर्दैछन्।
यसअघि पुष्प खड्का र पूजा शर्माले फिल्म ‘३६ को आँकडा’ तथा केही म्युजिक भिडियोमा समेत सहकार्य गरिसकेका छन्। अब ठूलो पर्दामा उनीहरूको जोडीलाई लिएर दर्शकको उत्साह थपिएको छ।
