टिकटकमार्फत लोकप्रिय बनेका आयुष सिंह ठकुरी अब नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन्। माइकल चन्दको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘राम नाम सत्य’मार्फत उनी पहिलो पटक ठूलो पर्दामा देखिन लागेका हुन्।
चैत २७ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्मको प्रचार–प्रसारका क्रममा आयोजित मिडिया अन्तरक्रियामा आयुष उत्साहित देखिए। उनले फिल्मको कथावस्तुले आकर्षित गरेपछि यो प्रोजेक्ट रोजेको बताए।
उनका अनुसार, “धेरै अफर आए पनि कथाले नै मलाई यो फिल्मतर्फ तान्यो,” भन्दै उनले यसमा काम गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।
आयुषले फिल्मभित्र आफ्नो भूमिका दर्शकका लागि सरप्राइज हुने बताएका छन्। ट्रेलरमा समावेश एउटा संवादका कारण आफ्नै परिवारले समेत उनको आवाज चिन्न नसकेको रोचक अनुभव उनले सुनाए।
टिकटकमा लाखौँ फलोअर्स भएका आयुषले अब त्यो डिजिटल दर्शकलाई हलसम्म ल्याउने चुनौती रहेको स्वीकार गरे। तर विदेशमा रहेका नेपालीहरूले समेत आफन्तका लागि टिकट काट्ने, हल बुक गर्ने जस्ता समर्थन देखाएको उनले बताए।
फिल्मको सिक्वेल पनि बन्ने तयारीमा रहेको उनले खुलासा गरे। “पहिलो भाग नहेरी सिक्वेल बुझ्न सकिँदैन,” उनले भने।
आयुषले फिल्ममा शतप्रतिशत मेहनत गरेको र कथा सस्पेन्स–थ्रिलर शैलीमा आधारित भएकाले दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास व्यक्त गरे। साथै, उनी अब फिल्म क्षेत्रमा निरन्तर काम गर्ने योजनामा रहेको पनि बताए।
उपेन्द्र शाही र स्वेता विमली को निर्माणमा बनेको फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकार र खुशी कार्की लगायतको अभिनय रहेको छ।
वितरकका अनुसार नयाँ वर्षमा सोलो रिलिज हुने यस फिल्मले राम्रो ओपनिङ गर्ने अपेक्षा गरिएको छ।