‘परालको आगो’मा ‘निम्तो सुपारी’को नयाँ स्वाद, सुहाना–प्रकाशको केमिस्ट्री देखियो गज्जब

0 Shares

काठमाडौं — आगामी बैशाख ११ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’ ले आफ्नो नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक गर्दै दर्शकमा थप उत्सुकता जगाएको छ। निर्माण टिमले शुक्रबार उक्त गीत ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो।

गीतमा सत्यराज आचार्य र मेलिना राईको स्वर रहेको छ भने संगीत सत्य–स्वरुप आचार्यले दिएका हुन्। सुरेन्द्र रानाको शब्द रहेको यस गीतको म्युजिक प्रोडक्सन रिकेश गुरुङले गरेका छन्।

सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा र प्रकाश सपुतको जोडी देखिन्छ। साथै सौगात मल्ल र सिर्जना अधिकारीको अर्को जोडी पनि प्रस्तुत गरिएको छ।

ग्रामिण परिवेशमा आधारित यस गीतमा दुवै जोडीबीचको केमिस्ट्री आकर्षक देखिएको छ। भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

यसअघि फिल्मको ‘उडि जाउँ भने, म पंक्षी होइन’ बोलको गीतले दर्शकमाझ राम्रो लोकप्रियता कमाइसकेको थियो। नयाँ गीत ‘निम्तो सुपारी’ पनि सार्वजनिक भएसँगै युट्युबमा चर्चा सुरु भएको छ।

लोकलयमा आधारित यस गीतले दर्शकको राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण टिमले गरेको छ।

गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’ बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतको अभिनय रहेको छ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्मको छायांकन संकल्प भुजेलले गरेका हुन्।

सम्बन्धित समाचार

सबै