तुलसी घिमिरे निर्देशित सामाजिक ड्रामा फिल्म ‘पहाड’ नयाँ वर्ष २०८३ को अवसरमा मंगलबारदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ। आइतबार सम्पन्न प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ।
प्रिमियरमा उपस्थित दर्शक तथा फिल्मकर्मीहरूले कथावस्तु र अभिनयको खुलेर प्रशंसा गरेका छन्। बेरोजगारी, रित्तिँदै गएको पहाड र जलवायु परिवर्तनजस्ता समसामयिक विषय उठाएको फिल्मले दर्शकलाई भावुक बनाएको प्रतिक्रिया आएको छ।
निर्देशक तथा अभिनेता नीर शाहले फिल्मलाई मौलिक र नेपालीपन झल्काउने कृति भएको बताए। उनका अनुसार फिल्मले समकालीन नेपालको यथार्थ चित्रण गर्दै दर्शकलाई धेरै तथ्यसँग परिचित गराउँछ।
अभिनेता भुवन केसीले ‘कुसुमे रुमाल’पछि निर्देशक घिमिरेसँगको सहकार्य सम्झँदै ‘पहाड’लाई स–परिवार हेर्न मिल्ने पूर्ण प्याकेज फिल्मको संज्ञा दिए।
त्यस्तै जितु नेपालले फिल्म हेर्दा आफू भावुक बनेको अनुभव सुनाउँदै निर्देशकले आफ्नै शैलीमा वर्तमान समाज प्रस्तुत गरेको बताए।
प्रिमियरमा दीपाश्री निरौला, दीपकप्रसाद आचार्य, दिवाकर भट्टराई, रमेश उप्रेती र किरण केसीलगायतले पनि फिल्मको प्रशंसा गर्दै नेपालको यथार्थ झल्किएको प्रतिक्रिया दिएका छन्।
निर्देशक तुलसी घिमिरेले फिल्मले पाएको प्रतिक्रियाबाट आफू उत्साहित भएको बताए। उनका अनुसार ‘पहाड’ सुन्दरता मात्र नभई खाली हुँदै गएको गाउँ र त्यसले निम्त्याउने सामाजिक–आर्थिक समस्याको कथा हो।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, सुनील थापा, रेणुनाथ योगी, उमा गिरी, अरुण क्षेत्री तथा डेब्यू अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ।
पञ्चमी घिमिरेले क्यामेरा अगाडिको अनुभव नयाँ र सिकाइपूर्ण रहेको बताइन् भने अभिनेता अरुण क्षेत्रीले निर्देशक घिमिरेसँग काम गर्न पाउनु आफ्नो लागि सौभाग्य भएको बताए।
फिल्मले युवाको विदेश पलायनका कारण खाली हुँदै गएको पहाड र त्यसले ल्याउने सामाजिक तथा आर्थिक प्रभावलाई चित्रण गरेको छ। छायाङ्कन प्रमोद प्रधानले गरेका हुन् भने सङ्गीत रञ्जित गजमेरको रहेको छ।
भाग्यरत्न फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछन्।