‘कमेडी दरबार ३’ सुरु: बैशाख ४ बाट प्रसारण, नयाँ जज र कमेडियन थपिए

0 Shares

लोकप्रिय हास्य टेलिभिजन शो ‘कमेडी दरबार’को तेस्रो सिजनको सुटिङ सुरु भएको छ। नयाँ वर्ष २०८३ को सुरुवातसँगै निर्माण टिमले काम अघि बढाएको हो भने कार्यक्रम आगामी बैशाख ४ गतेदेखि प्रसारणमा आउनेछ।

सोमबार पुतलीसडकस्थित स्टुडियोमा दुई एपिसोडको सुटिङ सम्पन्न गरिएको छ। पहिलो एपिसोडमा ‘मितज्यू’ फिल्मको टिमबाट दयाहाङ राई, सौगात मल्ल, शिशिर बाङ्देलतेरिया मगर सहभागी थिए भने दोस्रो एपिसोडमा ‘पहाड’ फिल्मको टिम उपस्थित थियो।

पहिलो र दोस्रो सिजनको सफलतापछि तेस्रो सिजनमा केही नयाँ परिवर्तन गरिएको निर्माण पक्षले जनाएको छ। यसपटक सेट डिजाइनमा परिमार्जन गरिएको छ भने जज प्यानल पनि विस्तार गरिएको छ। यसअघि महाराजा र महारानी मात्र रहेकोमा अब अभिनेत्री दिया मास्के ‘रानी’को भूमिकामा थपिएकी छन्। गौरी मल्ल (महारानी) र मनोज गजुरेल (महाराजा) भने यथावत छन्।

यस सिजनमा नयाँ कमेडियनका रूपमा दिनेश काफ्ले, सन्तोष थापा र सुजन जिम्बा प्रवेश गरेका छन्। साथै, डाबर रेडपेस्ट शीर्ष प्रायोजकका रूपमा जोडिएको छ।

कार्यक्रम प्रत्येक शुक्रबार राति प्राइम टेलिभिजन र ‘ओएसआर रियालिटी’ युट्युबमार्फत प्रसारण हुनेछ। शोको निर्देशन श्रृद्धा प्रसाईं र बिक्की अगरवालले गर्दै आएका छन् भने होस्टिङमा बिक्कीसँगै सजिना खनाल देखिनेछिन्।

लेखनमा सरोज भण्डारी र विकास अर्याल रहेका छन्। यसअघिका लोकप्रिय कमेडियन कलाकारहरू—सीडी विजय अधिकारी, विश्वास तिम्सिना (बीटी कान्छा), सुन्दर खनाल, पवित्रा साँकी (मिस पबी), सुजाता श्रेष्ठ, पवन खतिवडा र विकास अर्याल—यस सिजनमा पनि यथावत रहनेछन्।

सम्बन्धित समाचार

सबै