‘रत्यौली’ घोषणा: पूजा–विजय पहिलोपटक सँगै पर्दामा

0 Shares

काठमाडौँ । नयाँ वर्ष २०८३ को पहिलो दिन पारेर अभिनेत्री पूजा शर्मा ले आफ्नो नयाँ फिल्म ‘रत्यौली’ निर्माणको घोषणा गरेकी छन्।

नाईटिङ्गेल इन्टरटेन्मेन्ट प्रा.लि. र पूजा शर्मा प्रोडक्सनको ब्यानरमा बन्ने फिल्ममा विजय बराल र पूजा शर्मा पहिलोपटक जोडीका रूपमा देखिने पक्का भएको छ।

मुस्कान ढकाल को निर्देशनमा बन्ने फिल्मलाई सुरज आचार्य ले निर्माण गर्नेछन्। लामो समयदेखि प्रोडक्सन डिजाइनरको रूपमा सक्रिय आचार्यले ‘उचाई’, ‘फर्जी’, ‘मिराई’, ‘टिसोन नाइडु’ र ‘दश का दम’ जस्ता भारतीय प्रोजेक्टहरूमा लाइन प्रोड्यूसरको रूपमा समेत काम गरिसकेका छन्।

सार्वजनिक पोस्टरमा पूजा र विजय ‘रत्यौली’ नृत्यमा रमाइरहेको देखिन्छ। विशेषतः पूजा शर्मा दौरा–सुरुवाल र नेपाली टोपीमा फरक गेटअपमा प्रस्तुत भएकी छन्, जहाँ उनको ओठमा जुँगा समेत देखिन्छ—जसले फिल्मको रमाइलो र मनोरञ्जनात्मक शैली संकेत गर्छ।

फिल्मको कथा तथा अन्य विवरण भने हालसम्म गोप्य राखिएको छ। तर, पहिलोपटक सँगै देखिन लागेको पूजा–विजयको जोडीले दर्शकमाझ उत्सुकता बढाएको छ।

सम्बन्धित समाचार

सबै