विशाल सोनीले ल्याए ‘पछ्यौरी बेरीरहूँ’, शान्तिश्रीसँगको सहकार्यसँगै गीतमा गम्भीर सामाजिक सन्देश

0 Shares

बहुचर्चित गीत ‘तानातान हानाहान स्याउली बजार’ का गायक विशाल सोनी ले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन्। नयाँ वर्षको अवसर पारेर उनले गायिका शान्तिश्री परियार सँगको युगल गायनमा ‘पछ्यौरी बेरीरहूँ’ बोलको गीत रिलिज गरेका हुन्।

यसअघि हल्काफुल्का गीतका कारण केही आलोचना खेपेका सोनीले यसपटक भने आफूलाई गम्भीर रूपमा प्रस्तुत गरेका छन्।

सार्वजनिक गीतले मुख्य रूपमा युवायुवतीको प्रेमलाई प्रस्तुत गरे पनि भिडियोमा नेपाली समाजमा देखिने बलात्कारजस्ता जघन्य अपराध र त्यसले पीडितमा पार्ने मनोवैज्ञानिक असरमाथि प्रश्न उठाउँदै त्यसविरुद्ध उभिनुपर्ने सन्देश दिएको छ।

गीतको भिडियोमा गायक सोनीले मोडल कोमल नेपाली सँग अभिनय गरेका छन्। भिडियोमा उनले राउटे समुदायको सदस्यको भूमिकामा आफूलाई प्रस्तुत गरेका छन्।

उनले भिडियोको अन्त्यमा यो राउटे समुदायको कथा नभएको स्पष्ट पार्दै दर्शक–श्रोतासँग भ्रम नहोस् भनेर अपिल गरेका छन्। साथै, बलात्कारजस्ता अपराधमा कडा कानुनी सजाय हुनुपर्ने र पीडितहरूलाई आत्मबलका साथ अघि बढ्न प्रेरित गरेका छन्।

गीतको मेलोडी सरल र आकर्षक भएकाले यसले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। गायक सोनीले आफ्नो अघिल्लो गीत ‘तानातान हानाहान स्याउली बजार’ जस्तै यस गीतले पनि सफलता पाउने आशा व्यक्त गरेका छन्।

गीतमा शब्द तथा संगीत पनि गायक सोनीकै रहेको छ। भिडियो निर्देशन तथा कोरियोग्राफी मुकेश नेपाली ले गरेका हुन्। भिडियो छायांकन प्रकाश खड्का र उनको टिमले गरेको हो भने सम्पादन, रंग संयोजन र GFX मिलन विश्वकर्मा ले गरेका छन्।

गायक सोनी ‘मकै बारी दर्याम दर्याम’ गीतबाट चर्चामा आएका हुन्।

 

सम्बन्धित समाचार

सबै