विवश कुमार माझी र मोहन केसी को निर्देशनमा बनेको फिल्म ‘बुकी’ को पहिलो प्रिमियर जापानमा आयोजना हुने भएको छ। निर्माण पक्षले फिल्मका मुख्य पात्रहरूको झलक सार्वजनिक गर्दै वर्ल्ड प्रिमियरको मिति र स्थान घोषणा गरेको हो।
फिल्मको ‘वर्ल्ड प्रिमियर’ सन् २०२६ मे ६ मा जापानको ओसाकामा आयोजना हुनेछ। ओसाकास्थित मिनातो कुमिन सेन्टरमा बेलुका ५:३० देखि ९:३० बजेसम्म विशेष प्रदर्शन गरिनेछ। यो प्रिमियरलाई नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
सार्वजनिक पोस्टरमा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की र प्रकाश घिमिरे लाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। पोस्टरको पृष्ठभूमिमा भलिबल कोर्ट, नेट र खेलाडीहरूको दृश्य देखिन्छ, जसले फिल्म महिला भलिबल र संघर्षको कथामा आधारित रहेको संकेत गर्छ। साथै हिमाली भूगोल र त्यहाँको जीवनशैली पनि पोस्टरमा समेटिएको छ।
पोस्टरमा सुरक्षा पन्त ‘नेपाल’ लेखिएको जर्सी लगाएर ट्रफी उचाल्दै विजयको क्षण मनाउँदै देखिएकी छन्, जसले उनको प्रेरणादायी खेल यात्राको संकेत गर्छ। रोशनी कार्की सामान्य र हँसिलो रूपमै देखिएकी छन्।
त्यस्तै देबेन्द्र बब्लु जर्सीमा गम्भीर चरित्रमा प्रस्तुत छन्, जसले उनको जिम्मेवार भूमिकाको संकेत गर्छ। वरिष्ठ कलाकार प्रकाश घिमिरे ढाका टोपीमा मार्गदर्शकजस्तो भूमिकामा देखिएका छन् भने लक्ष्मीनाथ तिमलसिना खेल प्रशिक्षकको भूमिकामा देखिन्छन्।
‘बुकी’ हिमाली क्षेत्रका पाटनहरूमा वर्षायाममा फुल्ने विशेष फूल हो। निर्माण पक्षका अनुसार फिल्मले खेलकुद र प्रकृतिबीचको सम्बन्धलाई भावनात्मक रूपमा प्रस्तुत गर्नेछ। फिल्मको छायांकन काठमाडौं, पोखरा र बागलुङको ढोरपाटन क्षेत्रमा गरिएको छ।
हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुतिमा बनेको यस फिल्ममा सुरक्षा पन्त, देबेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा छन् भने प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, निशा बजगाईं, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी लगायतका कलाकारको अभिनय रहेको छ।
निर्मातामा लक्ष्मण सापकोटा, अमिशा काउचा थापा मगर र रमेश थापा छन् भने कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी रहेका छन्। क्रिएटिभ प्रोड्युसरमा राजेश थापा र बसुन्धरा खरेल छन् भने को-प्रोड्युसरमा जितु थापा र सुनील बुढाथोकी रहेका छन्।
प्राविधिक टिममा आशुका अर्याल (एसोसिएट निर्देशक), आचार्य गोपाल (चिफ असिस्टेन्ट निर्देशक), टाइग्रिस, निशा दाहाल र उज्वल अधिकारी (सहायक निर्देशक), विकास गन्दर्भ (डिओपी) र भुपेन्द्र अधिकारी (सम्पादन) रहेका छन्।
हालसम्म नेपालमा प्रदर्शन मिति तय नभए पनि निर्माण पक्षले सन् २०२६ भित्र फिल्म रिलिज गर्ने लक्ष्य लिएको छ।