बैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’ अहिले दर्शकमाझ चर्चामा छ। गीत, ट्रेलर र फरक मेकिङ शैलीका कारण फिल्मप्रति उत्सुकता झन् बढ्दै गएको देखिन्छ।
फिल्ममा सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत को अभिनय मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ। विशेषतः सुहानाको यसपटकको अभिनय अघिल्ला फिल्मभन्दा पूर्ण रूपमा फरक देखिएको बताइएको छ।
निर्माता सुशील पोखरेल ले फिल्मप्रति आफू निकै आशावादी रहेको बताउँदै दर्शकमा गहिरो प्रभाव छोड्ने विश्वास व्यक्त गरेका छन्। “मैले धेरै फिल्म निर्माण गरेको छु, तर यो फिल्म हेरेपछि दर्शकमाझ छुट्टै छाप बस्नेमा म ढुक्क छु,” उनले भने।
निर्देशक लक्ष्मण सुनार पनि फिल्मको प्रस्तुतीकरणप्रति उत्तिकै आत्मविश्वासी देखिन्छन्। उनका अनुसार फिल्मले नेपाली फिल्ममा नयाँ मेकिङ शैली प्रस्तुत गरेको छ, जसले दर्शकलाई फरक अनुभव दिनेछ।
निर्माता पोखरेल भन्छन्, “यो फिल्म केवल कथा होइन, प्रस्तुतीकरणकै हिसाबले पनि विशेष अनुभव दिने प्रयास हो।”
फिल्मको अर्को रोचक पक्ष भनेको मुख्य कलाकारहरूले पहिलो पटक एउटै पर्दामा सहकार्य गर्नु हो। यसले उनीहरूको केमेस्ट्रीलाई नयाँ, स्वाभाविक र दर्शकका लागि ताजा बनाउने अपेक्षा गरिएको छ।
फिल्मका लेखक सुशील देवकोटा ले समेत ‘परालको आगो’लाई नयाँ प्रयोग र अनुभूतिको संगम भएको बताएका छन्। “यो केवल फिल्म होइन, नयाँ ऊर्जा र अनुभव हो, जसलाई दर्शकले छुटाउन नहुनेछ,” उनले भने।
महान कथाकार गुरु प्रसाद मैनाली को चर्चित कथामा आधारित यस फिल्मले पहिले नै बलियो साहित्यिक आधार पाएको छ। निर्देशक सुनारको अघिल्लो सफल काम ‘बुलाकी’ र निर्माता पोखरेलका सफल फिल्महरूको इतिहासले पनि यस फिल्मप्रति दर्शकको अपेक्षा बढाएको छ।