‘महाराजधिराज’मा केकी अधिकारी ‘महारानी’ बन्दै भित्रिइन्

0 Shares

निर्माणको तयारीमा रहेको फिल्म ‘महाराजधिराज’मा अभिनेत्री केकी अधिकारी ‘महारानी’को भूमिकामा अनुबन्धित भएकी छन्। निर्माण टिमले केकीको प्रवेशसँगै फिल्मको लाइनअप अझ सशक्त बनेको दाबी गरेको छ।

फिल्मका प्रस्तुतकर्ता विराज विष्ट ले केकीलाई स्वागत गर्दै उनको उपस्थितिप्रति कृतज्ञता व्यक्त गरेका छन्। केही दिनअघि मात्रै आफ्नो नयाँ फिल्म ‘स्टेशन’ घोषणा गरेकी केकी अहिले ‘महाराजधिराज’मा जोडिएकी हुन्।

यसअघि फिल्मको मुख्य भूमिकामा पुष्प खड्का अनुबन्धित भइसकेका छन्। नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको पोस्टरमार्फत उनको भूमिका सार्वजनिक गरिएको थियो। अनुबन्धका क्रममा पुष्पले आफ्नै औंला काटेर रगतको औंठाछाप लगाएको घटनाले फिल्मप्रति उत्साह थपेको छ।

फिल्मको पोस्टरले पिरियड ड्रामा र थ्रिलर शैलीको संकेत दिएको छ। निर्देशक परिच्छेद सेन को ड्रीम प्रोजेक्ट मानिएको यो फिल्म वैशाखको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा छ।

फिल्ममा नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, वर्षा राउत लगायतका चर्चित कलाकारहरूको पनि अभिनय रहनेछ। कुल करिब ८० कलाकारको सहभागिता रहने बताइएको छ, जसले पुराना र नयाँ पुस्ताबीचको संयोजन प्रस्तुत गर्नेछ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु भई काठमाडौं, भक्तपुर र कीर्तिपुरका ऐतिहासिक स्थानहरूमा गरिनेछ। छायांकन नबराज थापा ले गर्नेछन्।

 

निर्माता रवि खड्का, शिवराज पौडेलटोपेन्द्र विष्ट रहेका छन्। निर्माण टिमले फिल्मलाई आगामी बडादशैंको फूलपातीमा देशव्यापी प्रदर्शन गर्ने लक्ष्य राखेको जनाएको छ।

सम्बन्धित समाचार

सबै