हेर्नुस् कस्तो बन्यो ‘परालको आगो’को ट्रेलर ?, कति सुहायो प्रकाश-सुहानाको जोडी?

0 Shares

आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार आयोजित एक कार्यक्रममा ट्रेलर रिलिज गर्दै फिल्मको कथा झल्को सार्वजनिक गरेको हो।

सार्वजनिक ट्रेलरमा मुख्य पात्रहरूबीचको सम्बन्ध, सामाजिक द्वन्द्व र भावनात्मक संघर्षलाई केन्द्रमा राखिएको देखिन्छ। फिल्ममा अभिनेत्री सुहाना थापा र अभिनेता प्रकाश सपुत बीचको तनावपूर्ण वैवाहिक सम्बन्ध तथा घरझगडाले कथा अघि बढेको संकेत गरिएको छ।

त्यसैगरी अभिनेता सौगात मल्ल र अभिनेत्री सिर्जना अधिकारी बीचको सम्बन्धलाई ट्रेलरमा भावनात्मक र सन्तुलित रूपमा प्रस्तुत गरिएको छ, जसले कथामा अर्को तहको संवेदना थप्ने देखिन्छ।

ट्रेलरले श्रीमतीमाथि भएको हिंसा, खोजीको यात्रा र सामाजिक पीडालाई उजागर गर्दै दर्शकलाई भावुक बनाउने संकेत दिएको छ। साथै, ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र मनोवैज्ञानिक द्वन्द्वलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।

निर्देशक लक्ष्मण सुनार को निर्देशनमा बनेको फिल्ममा आगोको झिल्को र अँध्यारो दृश्यहरूले कथाको प्रतीकात्मकता बलियो बनाएको देखिन्छ।

फिल्मका निर्माता सुशील पोखरेल हुन् भने कथा गुरु प्रसाद मैनालीको प्रसिद्ध कृति ‘नासो’ अन्तर्गतको ‘परालको आगो’ कथामा आधारित छ, जसलाई ४५ वर्षअघि पनि प्रताप सुब्बाले फिल्मका रूपमा निर्देशन गरेका थिए।

फिल्ममा सौगात, प्रकाश, सुहाना र सिर्जना सहित किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बाँनियालगायतको अभिनय रहेको छ।

निर्माण पक्षका अनुसार फिल्मको छायांकन, सम्पादन, संगीत, भिएफएक्स र पोस्ट–प्रोडक्सनमा उच्च स्तरको प्रविधि प्रयोग गरिएको छ। फिल्मलाई आर आर फिल्मसले वितरण गर्नेछ भने ओएसआर ओटीटीले डिजिटल राइट्स लिइसकेको छ।

सम्बन्धित समाचार

सबै