प्युठानको गौमुखी गाउँपालिकास्थित जुपाल सामुदायिक वनमा अवैध शिकारका क्रममा भएको गोलीकाण्डमा एक किशोरको मृत्यु भएको छ भने एक किशोरी घाइते भएकी छन्। बँदेल ठानेर चलाइएको गोली लाग्दा १९ वर्षीय सुशिल परियारको ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार घटना चैत २९ गते राति गौमुखी–४ सुँगुरखालस्थित जंगलमा भएको हो। गोली लागेर गम्भीर घाइते भएका परियारको उपचारका क्रममा चैत ३० गते बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।
परियारसँगै रहेकी १८ वर्षीया किशोरी पनि घाइते भएकी छन्। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गौमुखी–४ खलाबाङका २७ वर्षीय वीरेन्द्र केसीसहित चार जना शिकार खेल्न जंगल गएका थिए। राति करिब १०:४५ बजे झाडी हल्लिएको र प्लास्टिकजस्तो आवाज सुनेपछि जंगली जनावर भएको आशंकामा भरुवा बन्दुकबाट गोली चलाइएको थियो। पछि नजिक पुग्दा किशोर–किशोरी घाइते अवस्थामा भेटिएका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार मृतक परियार साथी सञ्जु परियार (दुर्जे दमाई) सँग करिब साढे तीन घण्टा पैदल हिँडेर जंगल पुगेका थिए। उनले फोनमार्फत किशोरीलाई भेट्न बोलाएको खुलेको छ। घटनाको समयमा उनीहरू सँगै थिए।
घटनामा संलग्न मुख्य आरोपी वीरेन्द्र केसीसहित उनका भाइ विश्वास केसी, १९ वर्षीय रवि केसी र १५ वर्षीय एक किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा प्रयोग गरिएका दुई थान भरुवा बन्दुक पनि बरामद गरिएको छ।
मृतकका बुबा गाजिराम दमाईको जाहेरीका आधारमा पक्राउ परेकामाथि ज्यानसम्बन्धी कसुर र हातहतियारसम्बन्धी मुद्दा चलाउने तयारी गरिएको छ। प्युठान जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।