‘पारी बुटोल’को दमदार टिजर, देखायो स्टाइलिस् नेपाली फिल्मको खडेरी पुर्ने लक्षण

0 Shares

काठमाडौं — निर्देशक गणेश देव पाण्डे को निर्देशनमा बनेको नयाँ नेपाली फिल्म पारी बुटोल को टिजर सार्वजनिक गरिएको छ। टिजरले फिल्मलाई ग्याङ्स्टर जनरामा आधारित रहेको स्पष्ट संकेत दिएको छ।

टिजरमा प्रमुख पात्रहरूको लुक्स र चरित्रलाई क्रमिक रूपमा प्रस्तुत गरिएको छ, जसले कथा भित्रको अपराध, संघर्ष र सामाजिक यथार्थलाई झल्काउँछ। फिल्ममा देखिएको अभिनय, छायांकन र संगीत संयोजनले दर्शकको ध्यान तानेको छ।

फिल्मको छायांकन बुटवल का वास्तविक स्थानहरूमा गरिएको हो, जसले कथालाई अझ यथार्थपरक बनाएको निर्माण पक्षले जनाएको छ। फिल्मले स्थानीय भाषा, व्यवहार र जीवनशैलीलाई समेत वास्तविक घटनाबाट प्रेरित भएर प्रस्तुत गरेको छ।

निर्देशक पाण्डेका अनुसार पारी बुटोल केवल ग्याङ्स्टर कथा मात्र होइन, यो युवाहरू, परिवार, संघर्ष र सफलता प्राप्त गर्न गरिने प्रतिस्पर्धात्मक दबाबको कथा पनि हो।

टिजरमा छायांकन महेश पौडेल, ब्याकग्राउन्ड म्युजिक जटावेदा बेनर्जी र र्‍यापर भ्योमाको गीतले थप प्रभावशाली बनाएको छ।

करिब १,००० कलाकारको अडिसनपछि चयन गरिएको कलाकार टोलीलाई छ महिनाको अभिनय कार्यशाला र एक महिनाको एक्सन प्रशिक्षण दिइएपछि मात्र छायांकन सुरु गरिएको हो।

फिल्मका निर्माता ल्याक्सी श्रेष्ठ हुन् भने सह-निर्मातामा मनीषा अधिकारी रहेकी छन्।

फिल्ममा अनुप बराल, दिया मास्के, कामेश्वर चौरासिया, दिव्य देव, सुवर्ण थापा, निरिक्षा घतानी, तुफान थापा लगायत दर्जनौँ कलाकारको अभिनय रहेको छ।

प्राविधिक पक्षमा एनबी महर्जनको एक्सन निर्देशन, लोकेश बज्राचार्यको सम्पादन, मनिता सुन्दासको कला निर्देशन र रोहित बरालको लोकेसन साउन्ड रहेको छ।

निर्माण पक्षले यथार्थ धरातलमा आधारित यो फिल्मले नेपाली दर्शकमाझ नयाँ प्रभाव छोड्ने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार

सबै