विपिन कार्कीको ‘काजी’ जेठ ८ मा रिलिज हुने, क्लासिक लभस्टोरीको संकेत

0 Shares

काठमाडौं — अभिनेता विपिन कार्की को मुख्य भूमिका रहेको नयाँ फिल्म काजी को प्रदर्शन मिति घोषणा गरिएको छ। आइतबार सार्वजनिक गरिएको प्रिभ्यूसँगै फिल्म आगामी जेठ ८ गते रिलिज हुने तय गरिएको हो।

प्रिभ्यू सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको चासो बढेको निर्माण टिमले जनाएको छ। विपिन कार्की स्वयं पनि फिल्मलाई लिएर निकै उत्साहित देखिएका छन्। उनले ‘काजी’लाई क्लासिक लभस्टोरी भन्दै यसले आफ्नो अघिल्लो सफल फिल्म जस्तै सरप्राइज दिने विश्वास व्यक्त गरेका छन्।

फिल्मलाई नेपाली साहित्यको प्रसिद्ध कृति मुनामदन जस्तै भावनात्मक प्रेमकथाको रूपमा चित्रण गरिएको छ। विवाहपछिको दम्पतीबीचको प्रेम सम्बन्धलाई केन्द्रमा राखेर कथा निर्माण गरिएको बताइएको छ।

फिल्ममा अभिनेत्री केकी अधिकारी ‘कजिनी’ पात्रको रूपमा देखिनेछिन्। प्रिभ्यूमा देखिएको भव्य मेकिङ र संवादले दर्शकको ध्यान तानेको निर्माण पक्षले जनाएको छ।

काजी मा विपिन र केकीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याललगायतको अभिनय रहेको छ।

फिल्म लक्ष्मण रिजाल को निर्देशनमा बनेको हो भने कथा प्रदीप भारद्वाज ले लेखेका हुन्। छायांकन चिन्तन राजभण्डारी, संगीत कालिप्रसाद बास्कोटा, सम्पादन बिपिन मल्ल र पार्श्व संगीत सुजिल कर्माचार्यको रहेको छ।

रिजाल एण्ड रिजल प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा कार्यकारी निर्माता असिम काफ्ले, निर्माता नेहान रिजाल र विकास राज जोशी रहेका छन्। फिल्मलाई नेपालभर श्रीराम बालाजी फिल्मस् ले वितरण गर्नेछ।

सम्बन्धित समाचार

सबै