दशैं हैन तिहारमा रिलिज हुँदै ‘पाँच पाण्डव’

0 Shares

काठमाडौं — बलियो स्टार कास्टका कारण चर्चामा रहेको नेपाली फिल्म पाँच पाण्डव ले रिलिज मिति लक गरेको छ। निर्माण पक्षले फिल्मलाई यस वर्षको तिहारको अवसर पारेर प्रदर्शनमा ल्याउने घोषणा गरेको हो।

तिहारको लामो बिदालाई लक्षित गर्दै रिलिज तय गरिएको फिल्मलाई नेपालभर आरआर फिल्म्स ले वितरण गर्ने भएको छ। प्रस्तुतकर्ता नवीन श्रेष्ठ का अनुसार वितरण टिमसँगको सहमतिमा उपयुक्त मिति छनोट गरिएको हो।

वितरक रोहित कट्टेलले पनि फिल्मप्रति उच्च अपेक्षा व्यक्त गरेका छन्। उनका अनुसार तिहार जस्तो ठूलो पर्वमा दर्शकले खोज्ने पूर्ण मनोरञ्जन फिल्मले दिने विश्वास लिइएको छ।

पाँच पाण्डव मा पाँच मुख्य भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठीसुशील सिटौला रहेका छन्।

त्यसैगरी फिल्ममा दीपा श्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार र मोडल इभा गिरी लगायत कलाकारको अभिनय रहेको छ।

फिल्मलाई वसन्त निरौला ले निर्देशन गरिरहेका छन् भने कथा, पटकथा र संवाद सुशील पौडेल ले लेखेका हुन्। फिल्मलाई सामाजिक ड्रामाको रूपमा प्रस्तुत गरिएको छ, जसमा महाभारतका पाँच पाण्डवको बिम्ब प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा देखाइनेछ।

पाँच पाण्डव को छायांकन झापाका विभिन्न स्थानसँगै काठमाडौं उपत्यकामा भइरहेको छ। हाल टोलीले झापाको एचएमसी न्यू हिकोला होटलमा इन्टेरियर दृश्य खिचिरहेको छ।

निर्माण पक्षका अनुसार फिल्ममा दिग्गज र नयाँ पुस्ताका कलाकारहरूको मिश्रणले कथालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। फिल्मको छायांकन श्याम तामाङ ले गरिरहेका छन्।

सम्बन्धित समाचार

सबै