काठमाडौं — वैदेशिक भ्रमण प्याकेजको नाममा ठगी गरेको आरोपमा एक ट्राभल एजेन्सी सञ्चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पेप्सीकोलास्थित स्काई वाल्क टुर्स एण्ड ट्राभल्स प्रालि का सञ्चालक निर्दोष सापकोटा रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार पेप्सीकोलाबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनले फेसबुक, टिकटक र इन्स्टाग्राममार्फत आफ्नो ट्राभल्स कम्पनीको पेज सञ्चालन गरी विदेश भ्रमणका लागि आकर्षक प्याकेज उपलब्ध गराउने भन्दै सर्वसाधारणसँग सम्पर्क गरेका थिए।
विशेषगरी थाइल्याण्डको एक हप्ताको टुर प्याकेज भन्दै रकम संकलन गरिएको र त्यसपछि ठगी गरिएको आरोप लागेको प्रहरीले जनाएको छ।
प्रहरीमा परेको उजुरीअनुसार हालसम्म २६ जनाबाट करिब १६ लाख ६० हजार रुपैयाँ ठगी भएको दाबी गरिएको छ।
पक्राउ परेका सापकोटामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।