सल्यानमा गोठभित्र जलेको अवस्थामा एक वृद्धको शव फेला परेको छ भने प्यूठानमा सामुदायिक वनमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। यस्तै शारदामा वन डढेलो बस्तीमा पस्दा घरमा क्षति पुगेको छ ।
सल्यान जिल्लाको बागचौर नगरपालिका–४ मोहरमा ७० वर्षीय मोतिराम वलीको शव आगलागी भएको गोठभित्र जलेको अवस्थामा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार मंगलबार दिउँसो स्थानीय भन्द्रबहादुर घर्तीको बाख्राको खोर (गोठ) भित्र जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो।
गोठमा राखिएका करिब ४० वटा कुखुरा पनि जलेर मरेका छन्।
परिवारका अनुसार वली गाउँमा भएको विवाह भोजमा सहभागी भएर मदिरा सेवन गरेका थिए। घर फर्कने क्रममा उनी अर्कैको गोठमा गएर सुतेका थिए। सोही क्रममा विद्युत सर्ट भएर आगलागी भएको र उनी भित्रै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
सल्यानकै शारदा नगरपालिका–४ सालटाकुरी सामुदायिक वनमा लागेको आगो बस्तीमा फैलिँदा दुई घरमा क्षति पुगेको छ।
स्थानीय गायत्रा विष्टको भान्सा कोठा र खिमबहादुर डाँगीको घरमा आगलागीबाट क्षति पुगेको प्रहरीले जनाएको छ। समयमै प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा ल्याइएकाले थप क्षति हुन पाएन।
यता प्यूठान जिल्लाको ऐरावती गाउँपालिका–५ साधन चौरस्थित सामुदायिक वनमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा २३ वर्षीय विनोद केसी र २९ वर्षीय रमेश केएम रहेका छन्।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो। वैशाख ६ गते राति करिब ९ बजेतिर बदर खोला सामुदायिक वनमा आगलागी भएको थियो।