अछाममा ३० वर्षीया महिलामाथि बलात्कार आरोपमा ५८ वर्षीय मजदुर पक्राउ

0 Shares

अछाममा एक ३० वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पीडित मानसिक सन्तुलन गुमाएकी महिला भएको प्रहरीले जनाएको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ का ५८ वर्षीय राजन फुयाँल शर्मा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ओमप्रकाश खनालका अनुसार शर्मालाई फागुन ७ गते मंगलसेन नगरपालिका–५ बाट पक्राउ गरिएको हो।

अनुसन्धानका क्रममा बलात्कारपछि पीडित महिलाको ७ हप्ताको गर्भ रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

पीडित महिलालाई सेफ हाउसमा राखी काउन्सिलिङ र सोधपुछ गर्दा गोप्य रूपमा गरिएको अनुसन्धानका आधारमा शंकास्पद व्यक्तिको पहिचान गर्दै प्रहरी शर्मासम्म पुगेको हो।

प्रहरीका अनुसार शर्मा पीडितको घर नजिकै रहेको विद्यालयमा ज्यालादारी मजदुरीको काम गर्न गएका थिए।

अनुसन्धानमा उनले विद्यालयको निर्माणाधीन भवनभित्र लगेर बलात्कार गरेको खुलेको डिएसपी खनालले बताए।

काम सकेपछि उनी उक्त स्थान छोडेर मंगलसेनबाट अन्यत्र गएको भए पनि पछि पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मंगलबार पीडित महिलाले आफन्तको सहयोगमा शर्माविरुद्ध किटानी जाहेरी दर्ता गरेकी छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित समाचार

सबै