काठमाडौं — शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’को अग्रिम टिकट बिक्री खुलेको छ। केही हलमा सोमबार नै बुकिङ सुरु भए पनि बुधबार बिहानदेखि देशभर व्यापक रूपमा बुकिङ खुला गरिएको हो।
निर्माण पक्षका अनुसार फिल्मले देशभर हालसम्म १०० भन्दा बढी शो पाएको छ। दर्शकको उत्साहलाई ध्यानमा राख्दै हलहरूले शो संख्या बढाएको र भोलिसम्म अझै वृद्धि हुने अपेक्षा गरिएको छ।
१३५ मिनेट रनटाइम रहेको यस फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको छ। ट्रेलर र गीतप्रति देखिएको सकारात्मक प्रतिक्रिया तथा दर्शकको चासोका कारण बुकिङमा उच्च माग देखिएको निर्माण पक्षले जनाएको छ।
गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायतको अभिनय रहेको छ।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्ममा लगानी सुशील पोखरेलले गरेका हुन्। पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्।
फिल्मको भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर र ट्रेलर सम्पादन साहिल खानले गरेका हुन्।
संगीततर्फ किरण तुलाधर, शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतको योगदान रहेको छ। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका छन्।
फिल्मका निर्माता सुलभी पोखरेल र सत्यम पोखरेल हुन्। नेपालभर वितरण आरआर फिल्म्सले गरिरहेको छ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।
बैशाख ११ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मप्रति पछिल्लो समय उल्लेख्य चर्चा छ। निर्माता सुशील पोखरेल फिल्मको गुणस्तरप्रति पूर्ण विश्वस्त देखिएका छन्।