हास्य विधामा परिचित जोडी कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ को नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ मा अभिनेता आशीर्वाद क्षेत्री मुख्य भूमिकामा अनुबन्धित भएका छन्।
निर्माण पक्षले बुधबार आशीर्वादलाई चलचित्रमा भित्र्याइएको पुष्टि गरेको हो। यसअघि नै मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझी यसै चलचित्रमार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्ने घोषणा भइसकेको छ। निर्माण टिमले आइतबार पोस्टर सार्वजनिक गर्दै उनलाई फिल्ममा स्वागत गरेको थियो।
आशीर्वाद र प्रशंसाको जोडीका रूपमा उनीहरू देखिने हुन् वा होइनन् भन्ने विषयमा भने निर्माण पक्षले कुनै स्पष्ट जानकारी दिएको छैन, जसले फिल्मप्रति थप कौतुहलता बढाएको छ।
चलचित्रको औपचारिक घोषणा गत मंगलबार नयाँ वर्ष २०८३ को अवसरमा गरिएको थियो। दीपकप्रसाद आचार्यले निर्देशन गर्ने यस फिल्मको कथा कुमार कट्टेलले तयार पारेका हुन् भने लेखन सविन अधिकारी र बसन्त न्यौपानेले गरेका छन्।
सामाजिक ड्रामा विधामा निर्माण हुने ‘चिरञ्जीवी भवः’ ले दुई पुस्ताबीचको सोच, मूल्य र सम्बन्धको अन्तरलाई मुख्य विषयवस्तु बनाएको छ। लेखक कट्टेलका अनुसार फिल्म वर्तमान सामाजिक परिवेशमै आधारित कथा हो।
चलचित्रका निर्माता उमेश कुमार बराल हुन् भने कार्यकारी निर्मातामा कुमार कट्टेल र शैलेश खत्री रहेका छन्।
दीपकप्रसाद आचार्यको यो दोस्रो निर्देशन हुनेछ। यसअघि उनले निर्देशन गरेको फिल्म ‘परान’ वर्ष २०८२ को सर्वाधिक कमाउने फिल्म बनेको थियो। यस्तै, कुमार कट्टेलको निर्देशन तथा अभिनय रहेको ‘लाज शरणम्’ ले पनि राम्रो व्यावसायिक सफलता पाएको थियो।
आशीर्वाद क्षेत्रीको प्रवेशसँगै चलचित्रको कलाकार लाइनअप अझ बलियो बनेको निर्माण पक्षको भनाइ छ। बाँकी कलाकार र प्राविधिक टोलीको छनोट कार्य जारी रहेको छ।