‘फेन्टासी कमेडी ड्रामा’ फिल्म ‘लाइफ ड्यामेज’को नयाँ गीत सार्वजनिक गरिएको छ। राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा फिल्मको डान्सिङ नम्बर रिलिज गरिएको हो।
जेठ १ गते प्रदर्शन मिति तय गरिएको यस फिल्मको सार्वजनिक गीतमा एसडी योगीको संगीत, आदर्श सुशीलको शब्द रचना तथा एसडी योगी र रेश्मा पुनको स्वर सुन्न सकिन्छ। गीतको भिडियो किरण थापाले कोरियोग्राफी गरेका छन्।
कन्टेन्ट क्रियेटरका रूपमा परिचित निमेष श्रेष्ठले यस फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका छन्। उनले अभिनेत्री सुरक्षा पन्तसँग मुख्य भूमिकामा स्क्रिन सेयर गरेका छन्।
फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षा पन्त, निमेष श्रेष्ठ, ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जंग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको कथा निमेष श्रेष्ठ, ईशा थापा र अभिषेक खरेलले संयुक्त रूपमा लेखेका हुन्। निर्देशक श्रेष्ठले ‘लाइफ ड्यामेज’ मनोरञ्जनात्मक र फरक स्वादको फिल्म हुने दाबी गरेका छन्। अभिनेत्री सुरक्षा पन्तले कथावस्तु मन परेकै कारण फिल्ममा काम गरेको बताएकी छन्।
फिल्ममा प्रवीण खड्काको छायांकन र बिकेन कार्कीको सम्पादन रहेको छ भने देशव्यापी वितरणको जिम्मा बटरफ्लाई फिल्म्सले लिएको छ। सार्वजनिक गीत फन रिभोलुसनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।