अभिनेता अनमोल केसी को शीर्ष भूमिका रहने फिल्म ‘जेरी : द लास्ट क्लाइम्ब’ निर्देशनका लागि सुयोग गुरुङ ले निरन्तरता पाएका छन्। बुधबार निर्माता सरोज न्यौपाने र निर्देशक गुरुङबीच औपचारिक सम्झौता भएको हो।
यो फिल्म २०८२ सालमा रिलिज भएको हिट फिल्म ‘जेरी : अन टप’ को दोस्रो श्रृंखला हो। यसअघि नै निर्माताले मुख्य भूमिकामा अनमोल केसीलाई निरन्तरता दिने निर्णय गरिसकेका थिए।
दोस्रो श्रृंखलाको निर्देशन जिम्मा पाएपछि गुरुङले पारिश्रमिकस्वरूप करिब ७२ लाख रुपैयाँ मूल्य पर्ने ‘लिप मोटर्स’को ‘सी टेन’ मोडलको कार लिएका छन्। संक्षिप्त समारोहबीच उनले उक्त गाडी बुझेका हुन्।
निर्माता न्यौपानेका अनुसार यो गाडी उपहार नभई निर्देशनको पारिश्रमिककै रूपमा दिइएको हो। उनले गुरुङ अझ उच्च पारिश्रमिकका योग्य रहेको पनि बताएका छन्।
अनन्या फिल्म्स ले निर्माण गर्ने यो फिल्म कम्पनीकै इतिहासमा सर्वाधिक कमाइ गर्ने ‘जेरी : अन टप’ को सिक्वेल हो। अन्य कलाकारहरू क्रमशः घोषणा गरिने जनाइएको छ।
फिल्मको पटकथा ब्रजेश खनाल ले लेखिरहेका छन्। आगामी २–३ महिनाभित्र लेखन सकिने र त्यसपछि छायांकन सुरु गर्ने तयारी रहेको निर्माण टिमले जनाएको छ। ‘जेरी : अन टप’ पर्वतीय परिवेशमा आधारित रोमान्टिक कथामा बनेको फिल्म थियो।
