हास्य ‘ब्याटल’ फर्म्याटमा ‘कमेडी बाज’ : प्रोमोमै देखियो नयाँ स्वाद

0 Shares

काठमाडौँ । नेपाली कमेडी शोहरूको भीडमा फरक अवधारणासहित आउन लागेको कमेडी बाज को पहिलो भागको प्रोमो सार्वजनिक भएसँगै दर्शकमाझ चासो बढेको छ। सार्वजनिक प्रोमोले नै शोको शैली, प्रस्तुति र हास्यको स्तरबारे संकेत दिएको छ।

आगामी आइतबारदेखि टेलिभिजन र युट्युवमार्फत प्रसारण हुने यो शोले प्रचलित कमेडी कार्यक्रमभन्दा भिन्न फर्म्याट अपनाएको देखिन्छ। पहिलो भागमा सामाजिक सञ्जालमा चर्चित कलाकारद्वय राजेन्द्र खड्गीजयकिशन बस्नेत अतिथिको रूपमा प्रस्तुत भएका छन्।

निर्माता सुन्दर खनाल ले सार्वजनिक गरेको करिब ३ मिनेट ३० सेकेण्डको प्रोमोमा दर्शकलाई हसाउने पर्याप्त सामग्री देखिन्छ। विशेषगरी, यस शोमा अतिथिहरूले पनि ‘रोस्टिङ’ शैलीमा प्रस्तुति दिने भएकाले कार्यक्रम थप रोचक बन्ने संकेत मिलेको छ।

‘कमेडी बाज’ सुन्दर खनालकै निर्माण तथा निर्देशनमा तयार भएको हो। उनी यसअघि चर्चित शो कमेडी दरबार मा आबद्ध रहँदै आएका छन् र अब दुवै शोमा सक्रिय रहनेछन्।

शोको अवधारणाबारे खनाल भन्छन्, “कार्यक्रम ‘ब्याटल’ फर्म्याटमा आधारित छ, जुन नेपालका लागि नयाँ प्रयास हो। दर्शकले यसलाई रुचाउनुहुनेछ भन्ने अपेक्षा छ।”

शोमा सुन्दर खनालसँगै आरती थापा ले होस्टिङ गर्नेछिन्। साथै, पवन खतिवडा (म्याकुरी), विश्वास तिमल्सिना (बिटी कान्छा), सरोज भण्डारी, सीता न्यौपाने, शुसान्त बस्याल, आशिष न्यौपानेनिश्चल अर्याल लगायतका कलाकारहरूको पनि सहभागिता रहनेछ।

यो शो इमेज टेलिभिजन र सुन्दर खनालको युट्युव च्यानलमार्फत हरेक आइतबार राति ८ बजे प्रसारण हुने जनाइएको छ।

सम्बन्धित समाचार

सबै