कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव वैशाख ११ देखि, ‘सुटिङ हब’ बनाउने दीर्घकालीन लक्ष्य

0 Shares

सुर्खेत । कर्णाली प्रदेशका कथा, कला, संस्कृति र पर्यटनलाई विश्वमाझ चिनाउने उद्देश्यसहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ। बिहीबार सुर्खेतस्थित होटल नमस्ते मा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवको विस्तृत कार्ययोजना सार्वजनिक गरिएको हो।

‘घूमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने मूल नारा र ‘जनजनमा नेपाली फिल्म, मनमनमा नेपाली फिल्म’ अभियानसहित आयोजना हुन लागेको महोत्सवको औपचारिक उद्घाटन वैशाख ११ गते वीरेन्द्रनगरस्थित होटल शुभ मा हुनेछ। सोही अवसरमा ‘चलचित्र पर्यटन संवाद’ कार्यक्रम पनि आयोजना गरिनेछ। कार्यक्रममा चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड लगायत विभिन्न तहका सरकारी प्रतिनिधि तथा फिल्मकर्मीहरूको सहभागिता रहने जनाइएको छ।

महोत्सवको दोस्रो दिन वैशाख १२ गते सल्यानको चर्चित पर्यटकीय स्थल कुपिण्डे दह मा ‘कुपिण्डे चलचित्र पर्यटन समारोह’ आयोजना गरिने कार्यतालिका छ।

महोत्सवले कर्णालीका लुकेका कथा, जीवनशैली, भाषा र भेषभूषालाई फिल्ममार्फत अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्य राखेको छ। महोत्सवका निर्देशक चक्र बहादुर चन्द ले कर्णालीमा सम्भावना हुँदाहुँदै पनि फिल्म र पर्यटन गतिविधि न्यून रहेको अवस्थामा यो महोत्सव ‘गेम चेन्जर’ बन्ने विश्वास व्यक्त गरे। उनका अनुसार संघीय, प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै कर्णालीलाई अन्तर्राष्ट्रिय ‘सुटिङ हब’का रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि सारिएको छ।

यस वर्ष ‘चलचित्र कथा प्रतियोगिता’ महोत्सवको विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको छ। कर्णालीका ओझेलमा परेका कथालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताको उत्कृष्ट कथालाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। आयोजकले नतिजा छिट्टै सार्वजनिक गर्ने जनाएको छ।

चलचित्र र पर्यटनलाई जोड्दै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि बढाउने लक्ष्यसहित आयोजना हुन लागेको महोत्सवले जलवायु परिवर्तनका असरबारे पनि फिल्ममार्फत जनचेतना फैलाउने लक्ष्य लिएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। महोत्सवका सल्लाहकार डा. महेन्द्र कुमार मल्ल ले कर्णालीको पर्यटन, अर्थतन्त्र र सूचना प्रविधिको विकासमा महोत्सवले योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार

सबै