‘परालको आगो’ रिलिज: १५० भन्दा बढी स्क्रिनमा प्रदर्शन

0 Shares

काठमाडौं । आज शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म परालको आगो ले पहिलो दिनमै उत्साहजनक ओपनिङ पाएको छ। बिहानैदेखि देशभरका हलहरू दर्शकले भरिभराउ देखिएका छन्, जसले फिल्मप्रति उच्च चासो रहेको संकेत गर्छ।

देशभर १५० भन्दा बढी शो पाएको फिल्मलाई दर्शकको मागलाई मध्यनजर गर्दै हल सञ्चालकहरूले उच्च प्राथमिकता दिएका हुन्। निर्माता सुशील पोखरेल का अनुसार अधिकांश हलमा शो हाउसफुल रहेका छन्। निर्माण टिम पनि शुक्रबार बिहानैदेखि विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ।

१३५ मिनेट रनटाइम रहेको फिल्मले ‘युनिभर्सल सर्टिफिकेट’ पाएको छ। साहित्यकार गुरु प्रसाद मैनाली को चर्चित कृति परालको आगो बाट प्रेरित कथावस्तु भएकाले पनि फिल्मप्रति दर्शकको आकर्षण बढेको देखिन्छ।

फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतको अभिनय रहेको छ।

हरि ॐ सिने मेकर्स प्रा.लि. को ब्यानरमा निर्माण भएको फिल्ममा लगानी सुशील पोखरेलको रहेको छ। पटकथा तथा संवाद सुशील देवकोटा ले तयार पारेका हुन्। फिल्मको भिएफएक्स समिर मियासत्यम राना ले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादन साहिल खान को रहेको छ।

फिल्मको पाश्र्व संगीत किरण तुलाधर ले दिएका छन् भने संगीततर्फ शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतको योगदान रहेको छ। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका हुन्।

निर्मातामा सुलभी पोखरेलसत्यम पोखरेल रहेका छन्। फिल्मको नेपाल वितरण आर आर फिल्म्स ले सम्हालेको छ भने डिजिटल अधिकार ओएसआर ले लिएको छ।

सम्बन्धित समाचार

सबै