अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया (बारा) का तत्कालीन निमित्त कार्यालय प्रमुख तथा इन्जिनियर (आठौँ तह) किशोरी प्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार यादवले सेवामा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै बिहीबार विशेष अदालत मा मुद्दा दायर गरिएको हो।
अनुसन्धानमा उनको सेवा अवधिमा विभिन्न स्रोतबाट करिब ३ करोड ४६ लाख रुपैयाँ वैध आम्दानी भएको देखिएको छ। तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, अध्ययन खर्च र ऋण भुक्तानीलगायत शीर्षकमा ४ करोड ९३ लाख रुपैयाँभन्दा बढी खर्च तथा लगानी भएको पाइएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादवले आफ्नो आम्दानीभन्दा १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ ९० पैसा बढी खर्च तथा लगानी गरेको देखिएको छ, जसको स्रोत पुष्टि हुन सकेको छैन।
सोही रकम बराबरको बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना तथा अवैध सम्पत्ति जफतको माग गरिएको छ।
त्यसैगरी सम्पत्ति लुकाएको तथा झूटा विवरण पेस गरेको आरोपमा थप कारबाहीको माग पनि गरिएको छ।
आयोगले यादवले आर्जन गरेको भनिएको अवैध सम्पत्ति उनकी श्रीमतीको नाममा समेत देखिएकाले उनलाई पनि प्रतिवादी बनाइएको जनाएको छ।