सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको फिल्म ‘रोल नं १’को टाइटल गीत सार्वजनिक गरिएको छ। फिल्मको आधिकारिक टाइटल सोंग रिलिजसँगै यसको कथा र विषयवस्तुबारे थप चर्चा सुरु भएको छ।
प्रशान्त शिवाकोटीले शब्द, संगीत र स्वर दिएका यस गीतले नेपाली शिक्षा प्रणालीमा देखिने ‘र्याङ्किङ’ संस्कृतिको दबाबलाई मुख्य रूपमा उजागर गरेको छ।
गीतमा एक ग्रामीण भेगका बालकको कथा प्रस्तुत गरिएको छ, जहाँ उसले अध्ययनका नाममा भोग्नुपरेको मानसिक दबाब र सामाजिक अपेक्षालाई चित्रण गरिएको छ। “अरू सबै मुर्ख, एउटै मात्र विद्वान” जस्ता शब्दमार्फत पहिलो हुने विद्यार्थीलाई मात्र सम्मान गर्ने प्रवृत्तिमाथि गम्भीर व्यङ्ग्य गरिएको छ।
गीतले बालमनोविज्ञानलाई केन्द्रमा राख्दै, गलत शैक्षिक अभ्यासले बालबालिकाको मानसिक स्वास्थ्यमा पार्ने असरलाई देखाउने प्रयास गरेको छ। पढाइसँगै रट्टा प्रणाली, घोकन्ते शिक्षा र प्रतिस्पर्धात्मक दबाबको आलोचना गीतमा स्पष्ट रूपमा गरिएको छ।
भिडियोमा हिमाली क्षेत्रका सुन्दर दृश्य, ढुंगाले बनेका परम्परागत घरहरू र ग्रामीण विद्यालय जीवनलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। एकातिर मैनबत्तीको उज्यालोमा पढ्न बाध्य बालक, अर्कोतिर साथीहरूसँग खेल्न र घुम्न चाहने उसको स्वाभाविक चाहना दबिएको दृश्यले भावनात्मक प्रभाव थपेको छ।
‘हरेक विद्यार्थीको कथा’ भन्ने स्लोगन बोकेको फिल्म ‘रोल नं १’ जेठ १५ गते (गणतन्त्र दिवस) देखि देशभरका हलमा प्रदर्शन हुने भएको छ।
फिल्मका निर्देशक जोन योञ्जन हुन्। मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी रहेका छन् भने बाल कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको अभिनय रहेको छ।
विनोद पौडेल र जान्वी पौडेलले निर्माण गरेको फिल्मका सह–निर्माता छत्रमाया गिरी र रमेश चौलागाईं हुन्। कथा महेश दवाडीले लेखेका हुन्।
म्याग्दीका ग्रामीण र रमणीय स्थानहरूमा छायांकन गरिएको यस फिल्मका छायांकन निर्देशक (DOP) शिवराम श्रेष्ठ हुन्। संगीत प्रशान्त शिवाकोटी, पृष्ठभूमि संगीत रोहित शाक्य, सम्पादन मदन घिमिरे, प्रोडक्सन डिजाइन कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन्।
निर्माताका अनुसार फिल्म नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन गरिनेछ। वितरण अधिकार रिच इन्टरटेन्मेन्ट र जे.एम. सिनेमाले लिएका छन्।