आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले ओएसआर युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरेको हो।
गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, दयाहाङ राई र रुषा न्यौपानेले आकर्षक नृत्य प्रस्तुत गरेका छन्। लोकलयमा आधारित यस गीतले तीन पात्रबीचको प्रेम सम्बन्ध र भावनात्मक निकटतालाई रमाइलो शैलीमा चित्रण गरेको छ। गीतमा “टाढा भइस नभन त कहिले, तिमीसँगै छु सानु म जहिले” भन्ने भावनात्मक पंक्तिले प्रेमको गहिराइ व्यक्त गरेको छ।
फिल्ममा सौगात मल्लको फरक अवतार देख्न सकिने बताइएको छ। ‘भुनभुन माहुरी’ गीतमा शब्द तथा संगीत श्रीकृष्ण बम मल्लको रहेको छ भने स्वर पनि उनकै छ। महिला स्वरमा लक्ष्मी मल्लले साथ दिएकी छन्।
गीतको भिडियो निङ्मा डी लेप्चाको कोरियोग्राफीमा तयार गरिएको हो। फरक शैलीको नृत्य निर्देशनले कलाकारहरूको प्रस्तुति अझ प्रभावशाली बनेको छ। दोहोरी संस्कृतिलाई समेटेर तयार गरिएको भिडियो दोहोरी साँझको परिवेशमा छायांकन गरिएको छ, जसले गीतलाई अझ जीवन्त बनाएको छ।
ग्रामीण परिवेशमा आधारित फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरका साथै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई र खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारहरूको अभिनय रहेको छ। यस फिल्ममार्फत तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्।
अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्ममा जनक घर्ती मगरको लगानी रहेको छ। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन लोकेश बज्राचार्यले गरेका छन् भने छायांकन शिशिर बिशंखेले गरेका हुन्।
संगीत श्रीकृष्ण बम मल्लको रहेको छ भने स्वरमा उनीसँगै मेलिना राई र लक्ष्मी मल्ल सहभागी छन्। मुख्य सहायक निर्देशकको रूपमा फिरोज खड्का रहेका छन्। आरआर फिल्म्सले वितरण गर्ने फिल्मको डिजिटल अधिकार ओएसआरले लिएको छ।
यसअघि सार्वजनिक गीत ‘गैराघरे काँइली’ दर्शकमाझ निकै लोकप्रिय बनेको थियो र अझै पनि चर्चामा रहेको छ।