अभिनेता तथा निर्देशक रमित ढुंगाना मातृशोकमा परेका छन्। उनकी आमा ज्ञानुदेवी ढुंगानाको आइतबार बिहान ५ बजे ललितपुरको पुल्चोकस्थित सुमेरु सिटी हस्पिटलमा निधन भएको हो। स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो। उनी ८८ वर्षकी थिइन्।
परिवार निकट म्यूजिक भिडियो निर्देशक रोजल थापाका अनुसार ज्ञानुदेवी ढुंगानाको अन्त्येष्टि आइतबार दिउँसो काठमाडौंस्थित पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार गरिनेछ। अन्त्येष्टिअघि पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाटमा राखिनेछ।
रमित आफ्नी आमासँग अत्यन्तै नजिक रहेको बताइन्छ। उनको सामाजिक सञ्जालमा पनि आमासँग खिचिएका तस्बिर र भिडियोहरू प्रशस्तै देखिन्छन्। घुमफिरदेखि अस्पतालसम्मका पलहरू उनले सार्वजनिक गर्ने गरेका थिए। आमाको स्वास्थ्य अवस्थाका कारण उनले केही फिल्म अफर समेत अस्वीकार गरेका थिए।
रमित ढुंगानाले पछिल्लो पटक आफ्नै निर्देशनमा फिल्म ‘नमेटिने घाउ’ निर्माण गरेका थिए, तर उक्त फिल्म व्यावसायिक रूपमा सफल हुन सकेन। अब उनी नयाँ फिल्म निर्माणको तयारीमा छन्।
स्रोतका अनुसार उनले आफ्नो डेब्यू फिल्म ‘माया नमार’को नाम पुनः प्रयोग गर्दै नयाँ निर्देशनमा अर्को फिल्म बनाउने योजना अघि बढाइरहेका छन्।