अनुपविक्रम शाहीले सकाए सलमान खानसँगको बलिउड फिल्म ‘मातृभूमि’को डबिङ

0 Shares

नेपाली अभिनेता अनुपविक्रम शाहीले बलिउड फिल्म ‘मातृभूमि’को डबिङ सम्पन्न गरेका छन्। सलमान खान फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा सलमान खान र अनुपविक्रम शाही मुख्य भूमिकामा देखिनेछन्।

अनुपविक्रमले पश्चिम मुम्बईको अँधेरीस्थित एम्पायर अडियो स्टुडियोमा फिल्मको डबिङ पूरा गरेका हुन्। निर्माण पक्षले फिल्मको प्रदर्शन मिति भने अझै सार्वजनिक गरेको छैन।

तर भारतीय सञ्चारमाध्यमका अनुसार ‘मातृभूमि’ भारतको स्वतन्त्रता दिवसको आसपास रिलिज हुने सम्भावना रहेको छ।

नेपाली कलाकार शाहीको बलिउड प्रवेशलाई दर्शक र फिल्म क्षेत्रमा महत्वपूर्ण उपलब्धि मानिएको छ। यसलाई नेपाली कलाकारको अन्तर्राष्ट्रिय उपस्थितिको विस्तारका रूपमा समेत हेरिएको छ।

यसैबीच, अनुपविक्रम शाही अर्को एक ठूलो बजेटको बलिउड फिल्ममा पनि अनुबन्ध भइसकेका छन्। उक्त फिल्मको औपचारिक घोषणा आगामी अगस्ट वा सेप्टेम्बरमा हुने बताइएको छ। यसको पुष्टि उनले एक नेपाली संचारमाध्यमसँग गरेका हुन्।

फिल्म करियरसँगै उनी नेपाली प्रोजेक्टमा पनि सक्रिय छन्। उनले २० बैशाखदेखि ‘१२ गाउँ २’ को छायांकन सुरु गर्ने तयारी गरेका छन्।

यसैबीच, उनी हालै यामाहाको ब्रान्ड एम्बेसडर समेत बनेका छन्।

सम्बन्धित समाचार

सबै