कलाकार प्रकाश तिवारी ‘पिके’ले आफ्नै कथा तथा निर्देशनमा छोटो फिल्म ‘जाली भान्जा’ निर्माण गरेका छन्। फिल्मको पहिलो झलक स्पेनको आलिकान्तेमा सार्वजनिक गरिएको हो।
फिल्मको पोस्टर तथा पहिलो लुक चर्चित निर्देशक मीनबहादुर भाम र सगरमाथा आरोही अक्कल बोहराले संयुक्त रूपमा सार्वजनिक गरेका थिए।
यसअघि टेलिफिल्म र कथानक फिल्ममा सह–निर्देशनमार्फत अनुभव बटुलेका तिवारीले हालैको नेपाल भ्रमणका क्रममा यो फिल्मको अवधारणा तयार गरेका हुन्।
प्रसुन फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा तिवारीसहित सबिन बाँस्तोला ‘गिरधारी’, सुनिल बाँस्तोला, रुद्रप्रसाद बाँस्तोला लगायत कलाकारको अभिनय रहेको छ।
छायांकन मरुभूमि नारायणले गरेका हुन् भने पोस्ट–प्रोडक्सन पेन सिजर्स एण्ड रेन्डर्स स्टुडियोमा गौतम राज खड्काले सम्पादन गरिरहेका छन्।
निर्माण टिमका अनुसार ‘जाली भान्जा’ छिट्टै प्रसुन फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ।
यसै टिमले निर्माण गरेको अर्को फिल्म ‘कपुरी क’ पनि चाँडै युट्युबमार्फत रिलिज गर्ने तयारी भइरहेको जानकारी दिइएको छ।