‘राजा शिवाजी’ बक्स अफिस : पहिलो दिन दमदार ओपनिङ, दोस्रो दिन घट्यो कमाइ

0 Shares

काठमाडौं । रितेश देशमुख निर्देशित तथा अभिनित ऐतिहासिक फिल्म राजा शिवाजी ले प्रदर्शनको पहिलो दिन बक्स अफिसमा उत्साहजनक व्यापार गरे पनि दोस्रो दिन कमाइमा गिरावट देखिएको छ।

मे १ मा महाराष्ट्र दिवसको अवसर पारेर मराठी र हिन्दी भाषामा रिलिज गरिएको फिल्मले पहिलो दिन करिब ११ करोड ३५ लाख भारतीय रुपैयाँ कमाएको थियो। तर दोस्रो दिन फिल्मको व्यापार केही घट्दै करिब १० करोड ५५ लाख रुपैयाँमा सीमित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दुई दिनमा फिल्मको कुल कमाइ २१ करोड ९० लाख रुपैयाँ पुगेको छ।

छत्रपति शिवाजी महाराजको जीवनमा आधारित यो फिल्म रितेश देशमुखको करिअरकै सबैभन्दा ठूलो र महत्वाकांक्षी परियोजनामध्ये एक मानिएको छ। फिल्ममा रितेश स्वयंले शिवाजी महाराजको भूमिका निर्वाह गरेका छन् भने निर्देशन पनि उनैले गरेका हुन्।

फिल्मको निर्माण ज्योति देशपांडेजेनेलिया देशमुख ले गरेका छन्। संगीत चर्चित जोडी अजय-अतुल को रहेको छ भने सिनेमाटोग्राफी सन्तोष सिवन ले गरेका छन्।

फिल्ममा संजय दत्त अफजल खानको भूमिकामा देखिएका छन् भने अभिषेक बच्चन संभाजी शाहाजी भोसलेको भूमिकामा छन्। विद्या बालन, महेश मांजरेकर, सचिन खेडेकर, भाग्यश्री, फरदीन खान, बोमन इरानीजितेन्द्र जोशी लगायत कलाकारको पनि अभिनय रहेको छ।

फिल्मले शिवाजी महाराजको बाल्यकालदेखि शक्तिशाली योद्धा बन्नेसम्मको यात्रा देखाएको छ। स्वराज्य स्थापना, युद्धकला, साहस र जनताको सम्मानका विषयलाई फिल्मले मुख्य रूपमा उठाएको छ।

फिल्मको अर्को विशेष आकर्षण भनेको रितेशका छोरा राहिल देशमुख को डेब्यु हो। उनले बालक शिवाजीको भूमिका निर्वाह गरेका छन्। साथै सलमान खान को सरप्राइज क्यामियोले पनि दर्शकमाझ चर्चा बटुलेको छ। थिएटरमा उनको इन्ट्रीसँगै दर्शकले ताली र सिटीमार्फत स्वागत गरेका थिए।

सम्बन्धित समाचार

सबै