सौगात मल्लको ‘बब डाई’का लागि कुशल पोखरेलको गीत, भिडियो छायांकन सकियो

0 Shares

काठमाडौँ । पोस्ट–प्रोडक्सन चरणमा रहेको फिल्म ‘बब डाई’का लागि गायक कुशल पोखरेलले गीत गाएका छन्। गीतको भिडियो छायांकन पूरा भएको छ।

ललितपुरको भैसेपाटीमा सोमबार र मंगलबार गरिएको छायांकनमा फिल्मका अधिकांश कलाकारको सहभागिता रहेको थियो। तर मुख्य कलाकार सौगात मल्लका दृश्यहरू भने केही दिनपछि छुट्टै छायांकन गरिने निर्माण पक्षले जनाएको छ।

गीतको शब्द पनि कुशल पोखरेलकै रहेको छ भने संगीत बेश चर्चिल भुसालले दिएका छन्। मिक्सिङ र मास्टरिङको काम केपासले गरेका हुन्।

डेढ वर्षअघि सार्वजनिक ‘पैसा’ गीतबाट चर्चामा आएका कुशल पोखरेलले यस फिल्ममार्फत अभिनयमा पनि डेब्यु गरेका छन्। उनी यसअघि अन्य फिल्मका गीतहरूमा पनि स्वर दिइसकेका थिए।

रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्म्सको सहकार्यमा निर्माण भइरहेको फिल्म ‘बब डाई’ कमेडी जनरामा आधारित छ। फिल्ममा सिम्रन पन्तसँगै सौगात मल्ल मुख्य भूमिकामा छन्।

निर्देशक प्रवीण श्रेष्ठका अनुसार नेवारी लवजमा ‘दाई’ लाई ‘डाई’ भनिने भएकाले फिल्मको नाम ‘बब डाई’ राखिएको हो।

Kushal Pokharel’s song for Saugat Malla’s ‘Bob Dai’ completed; video shoot wrapped

फिल्ममा सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशीलगायत कलाकारको अभिनय छ। बाल कलाकारका रूपमा अग्रिम पण्डित देखिनेछन्।

कथा मैनिषा गौचन र प्रवीण श्रेष्ठले लेखेका हुन्। सम्पादन पनि निर्देशक श्रेष्ठले नै गरिरहेका छन्। श्याम तामाङ र टोलीले छायांकन गरेका हुन्। दिनेश बहादुर राउत एसोसिएट निर्देशक र तर्कराज न्यौपाने मुख्य सहायक निर्देशक छन्।

निर्मातामा राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर छन् भने कार्यकारी निर्माता रविन्द्र प्रजापति हुन्। फिल्म २०८३ मा प्रदर्शन हुने तयारीमा छ, तर प्रदर्शन मिति छिट्टै सार्वजनिक गरिने जनाइएको छ।

सम्बन्धित समाचार

सबै