काठमाडौँ । अभिनेत्री रेखा थापाले नयाँ फिल्म ‘काउकुती’ निर्माण गर्ने भएकी छन्। फिल्मको औपचारिक घोषणा भारतको उत्तराखण्डस्थित कैंची धाममा विशेष पूजाआजा पछि गरिएको हो। रेखाले सोमबार साँझ पूजाआजा गरेकी थिइन् भने मंगलबार परियोजना सार्वजनिक गरिएको हो।
यो फिल्म रेखा थापा प्रोडक्सनको आठौँ निर्माण रहनेछ।
फिल्मको निर्देशन श्रद्धा प्रसाईंले गर्ने भएकी छन्। ‘कमेडी दरबार’की निर्देशकका रूपमा परिचित श्रद्धाले यसअघि ‘ककाकिकी’ नामक फिल्म पनि निर्देशन गरेकी थिइन्, जुन अझै प्रदर्शन हुन बाँकी छ।
फिल्ममा रेखा थापाको मुख्य अभिनय रहनेछ भने मुख्य पुरुष भूमिकामा नयाँ कलाकार भित्राउने तयारी गरिएको छ।
कथा विक्की अग्रवाल र विनेश राईले लेखेका हुन् भने पटकथा विनेश राई स्वयंले तयार पारेका छन्। लगानीमा बलराम शाही ठकुरी र नवराज श्रेष्ठ रहेका छन्। बलराम शाही रेखा थापाका श्रीमान् समेत हुन्।
फिल्मको छायांकन असोज महिनादेखि सुरु गर्ने तयारी छ। संगीतमा प्रशान्त सिवाकोटी रहनेछन् भने एक गीत चर्चित र्यापर लिल झोला (आकाश क्षेत्री)ले गाउने जनाइएको छ।