काठमाडौँ । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म ‘झिँगेदाउ २’ को प्रदर्शन मिति घोषणा गरिएको छ। फिल्म आगामी असोज ३ गते, संविधान दिवसको अवसर पारेर देशभर प्रदर्शनमा आउने भएको हो।
यसअघि फिल्मलाई दशैंको फूलपातीमा रिलिज गर्ने तयारी गरिएको थियो। तर सो मितिमा अन्य फिल्महरूबीच प्रतिस्पर्धा बढ्ने देखिएपछि सुरक्षित मितिका रूपमा असोज ३ रोजिएको निर्देशक देउजाले बताएका छन्।
मंगलबार सार्वजनिक गरिएको पोस्टरमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल बिष्ट क्यारेक्टर लुक्समा प्रस्तुत छन्। निर्माण टिमले यी दृश्यले दर्शकमाझ उत्सुकता बढाउने अपेक्षा गरेको छ।
कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपालको संयुक्त निर्माण रहेको फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, हिउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुषलगायत कलाकारको अभिनय छ।
फिल्मको कथा स्वयं निर्देशक देउजाले लेखेका हुन् भने पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले तयार पारेका छन्। द्धन्द्व निर्देशन रोशन श्रेष्ठ, कोरियोग्राफी रामजी लामिछाने र संगीत अर्जुन पोखरेलको रहेको छ।
सम्पादन मित्र डि. गुरुङले गरेका छन् भने ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर छन्। पासाङ टी शेर्पा र मानिक पाख्रिन कला निर्देशनमा संलग्न छन्।
निर्मातामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा रहेका छन्। अहिले फिल्मको डबिङ कार्य तीव्र रूपमा भइरहेको छ।
फिल्मको छायांकन काभ्रे, काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ र चितवनमा गरिएको हो।