‘एक मुठ्ठी बादल’का कान्छा सदस्य अविरल प्रताप अधिकारी

0 Shares

काठमाडौँ । फिल्म ‘एक मुठ्ठी बादल’मा परिवारका सबैभन्दा कान्छा सदस्यका रूपमा देखिएका अविरल प्रताप अधिकारी वास्तविक जीवनमा पनि सुटिङ युनिटकै कान्छा सदस्य थिए। तर रोचक कुरा के छ भने, यही फिल्मका लागि अडिसन दिने उनी पहिलो व्यक्ति बनेका थिए।

विश्वका विभिन्न ल्याब हुँदै विकास भएर सुटिङ चरणमा पुगेको यस फिल्मले पटकथालाई अन्तिम रूप दिन ६–७ वर्ष लगाएको निर्माण टिमले जनाएको छ। यही क्रममा ‘भाइ’ पात्रका लागि अविरलको अडिसन लिइएको थियो।

अविरलले भने, “त्यतिबेला म १७ वर्षको थिएँ। अभिनयको कुनै अनुभव थिएन। दुई पेजको दृश्य आफ्नै बुझाइमा अभिनय गरेर पठाएको थिएँ। निर्देशक सहारा दिदीले पछि खबर गर्छौं भन्नुभएको थियो। पाँच वर्षपछि फेरि अडिसन दिनुपर्‍यो, त्यसपछि मात्र म छनोट भएँ।”

छनोट भएको दिनलाई उनले जीवनकै अविस्मरणीय क्षण भनेका छन्। “पहिलो पटक प्लेन चढेँ। पोखरा सुटिङमा जाँदा त्यो अनुभव निकै रमाइलो थियो,” उनले बताए। सुटिङ सकिँदा भावुक भएर रोएको क्षण पनि उनले सम्झिए।

अविरल कलाकार परिवारबाट आएका हुन्। उनी कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीका नाति र कार्यक्रम निर्देशक तथा कमेन्टेटर अमनप्रताप अधिकारीका छोरा हुन्। यही पृष्ठभूमिबाट उनले नाटक हुँदै फिल्ममा प्रवेश गरेका हुन्। ‘एक मुठ्ठी बादल’पछि उनले ‘पारी बुटोल’मा पनि अभिनय गरेका छन्।

‘Ek Mutthi Badal’ youngest cast member Aviral Pratap Adhikari, from first audition to big screen journey

फिल्ममा उनी घरको एक्लो छोरो र दिदीहरूको मायाले घेरिएको भाइको भूमिकामा छन्। तर वास्तविक जीवनमा उनी त्यस्तो धेरै पुलपुलिएको भाइ होइनन्।

“घरमा दिदीसँग हुर्किएको अनुभवले फिल्मको दिदी–भाइ सम्बन्ध बुझ्न सजिलो भयो। तर वास्तविक जीवन र फिल्मको भाइ फरक हो,” उनले भने।

उनका अनुसार फिल्मका हरेक पात्रले नेपाली परिवारको वास्तविक जीवनलाई प्रतिनिधित्व गर्छन्। “यसको पटकथा नै सम्पूर्ण नेपाली परिवारलाई अध्ययन गरेर लेखेजस्तो लाग्छ,” उनी भन्छन्।

सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘एक मुठ्ठी बादल’ जेठ १ देखि प्रदर्शनमा आउँदैछ। फिल्ममा निशा शर्मा, शेखर चापागाईं, आँचल शर्मा, उषा रजक, मनिष निरौला, गौरव बिष्ट, सहयोग राज अधिकारी, भिमा मैनाली, अस्मिता गौतमलगायत कलाकारको अभिनय रहेको छ।

सम्बन्धित समाचार

सबै